विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको मन्त्रिमण्डल मा सामेल हुने एमाले सांसदरुहले नै अस्वीकार गरेका छन् ।
नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्दा तीन सांसदले मन्त्री बन्न अस्वीकार गरेका हुन् ।
नेकपा एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी र उदयपु्रका सांसद बिमल कार्कीले मन्त्रि पद अस्वीकार गरेका हुन् । उनीहरु दुबैलाई मुख्यमन्त्री आचार्यले राज्यमन्त्रीको प्रस्ताव गरेका थिए ।
‘राज्यमन्त्री बन्न प्रस्ताव आएको थियो, मैले अस्वीकार गरे’ राजभण्डारीले भने, ‘अब अन्य साथीहरु सरकारमा जानुहुन्छ ।’ मन्त्री बन्न अस्वीकार गर्नुको कारण नखुलाए पनि राज्यमन्त्री मात्र दिएको र सरकार बढिमा तीन साता मात्र टिक्ने भएकोले उनीहरुले मन्त्री बन्न अस्वीकार गरेका हुन् । सांसद कार्कीले पनि आफूलाई राज्यमन्त्री बन्न प्रस्ताव आएकोमा अस्वीकार गरेको जानकारी दिएका छन् ।
यसैगरि शेरधन राई नेतृत्वको अघिल्लो सरकारमा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेका राजकुमार ओझालाई पनि मुख्यमन्त्रीले राज्यमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले पनि ३ हप्ते सरकारको राज्यमन्त्री बन्न अस्वीकार गरेका छन् । छोटो अबधिको लागि मन्त्री बन्न अस्वीकार गरेको उनले बताए ।
मुख्यमन्त्री आचार्यले आज २ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ गराउने तयारी गरेका छन् । मन्त्रीको रुपमा संखुवासभाका तुलसी न्यौपाने र झापाका हिराकुमार थापाले सपथ लिने भएका छन् । साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने सपथमा तीन राज्यमन्त्रीलाई पनि मुख्यमन्त्री आचार्यले सपथ गराउने तयारी गरेका छन् ।
तीन जनाले राज्यमन्त्री बन्न अस्वीकार गरेपछि सोलुखुम्बुका उत्तमकुमार बस्नेत र मोरङका ज्ञानेश्वर राजवंशीलाई राज्यमन्त्री बनाउने तयारी भएको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ । अर्का एक जनाको नामबारे भने छलफल भइरहेको बताइएको छ ।
मन्त्रिपरिषदको आज बसेको बेठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । सो बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । प्रदेशसभामा हाल एमालेका सभामुखसहित ४१ सदस्यमात्र कायम रहेको र अन्य कुनै विपक्षी दलहरुले समर्थन गर्ने सम्भावना नदेखिएकोले उनले विश्वासको मत पाउने सम्भावना छैन ।
विश्वासको मत पाउने संभावना नभएपनि बढिमा २४ दिनका लागि मन्त्री नियुक्तिको तयारीमा मुख्यमन्त्री जुटेका हुन् । प्रदेशसभामा बहुमत सिद्ध गर्न ४७ सांसदको आवश्यकता पर्नेमा अहिले विपक्षी गठबन्धनमा ५० सांसद छन् ।