विराटनगर । प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लाका १९४ जना निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले मंगलबारसम्मको समय दिएकोमा १० प्रदेशसभा सदस्य, २ जिल्ला समन्वय समितिका प्रमुखसहित १८२ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका हुन् । संघीय सांसदका २ जनाले भने पार्टी विभाजनकै बखतमा सनाखत गरेका थिए ।
नेकपा एमालेबाट निर्वाचित खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र संखुवासभा जिसस प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला समन्वय समितिका उपप्रमुखले पनि नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । इलाम जिससका उपप्रमुख चित्रकला बराइली, धनकुटाका उपपमुख बंगला राई र जिसस ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीले एकीकृत समाजवादी रोजेका हुन् ।
स्थानीय तहमा राम्रो उपस्थिति रहेको नेकपा एमालेका अधिकांश जनप्रतिनिधिहरु बिभाजनको पक्षमा लागेनन् । २ नरपालिकाका प्रमुख र २ उपप्रमुखले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । यस्तै ३ गाउँपालिका अध्यक्ष र ३ उपाध्यक्ष एमाले छाडेर समाजवादीमा लागेका छन् ।
प्रदेश १ का विभिन्न स्थानीयतका ३४ जना वडाध्यक्ष एमाले छोडेर विभाजनको पक्षमा लागेका छन् । ताप्लेजुङबाट ५ जना वडाध्यक्षहरुसहित २१ जना एमाले जनप्रतिनिधिले पार्टी छोडेका हुन् ।
पाँचथरमा २ वडाध्यक्षसहति ११ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । इलामको सूर्योदय नगरपालिकाका प्रमुखुसहित ९ जना वडाध्यक्ष र माइजोगमाई गाउँपालिका अध्यक्ष र एक जना वडाध्यक्षसहित इलामका ५८ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन् ।
तेह्रथुममा एक पालिका अध्यक्ष, एक वडाध्यक्षले एमाले छोडेर समाजवादीमा सनाखतन गरेका छन् । धनकुटामा जिसस उप्रमुखसहित ८ जनाले एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरे । सनाखत गर्नेमा ३ वडाध्यक्ष र ४ जना वडा सदस्य छन् ।
भोजपुरबाट एक उपप्रमुखसहित ६ जना नयाँ पार्टीमा लागेका छन् । खोटाङ जिल्लामा जिसस प्रमुखसहित ११ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । सनाखत गर्नेमा एक वडाध्यक्ष र ७ जना वडा सदस्यहरु छन् ।
ओखलढुंगामा एक जना कार्यपालिका सदस्यले मात्र एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् भने सोलुमा नेकपा एकीकृत समाजवादी निर्वाचित जनप्रतिनिधिबिहीन बनेको छ । सोलुबाट कसैले पनि नयाँ पार्टी नरोजेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नम्रता चुडालले जानकारी दिइन् ।
उदयरपुरमा त्रियुगा नगरपालिकाका प्रमुख र उदयपुर गाउँपालिकाका अध्यक्षसहित ५ जना वडाध्यक्ष र २१ जना सदस्यले एमाले छोडेर नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन् । झापा, मोरङ र सुनसरीमा नेकपा एमालेको विभाजनको प्रभाव न्यून देखिएको छ । यी जिल्लाहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु थोरै संख्यामा मात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एक जिल्ला समन्वय समिति सदस्य पदम लिम्बू र एक वडाध्यक्षसहति ७ जनाले मात्र नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन् । यता मोरङमा पनि ४ जना वडाध्यक्ष र ४ जना वडासदस्यसहित ८ जनाले विभाजनको पक्षमा सनाखत गरेका छन् ।
उता सुनसरीको इटहरी गाउँपालिकाका कार्यपालिका सदस्य र स्थानीय तहका ५ जना वडा सदस्यसहित ६ जनाले मात्र एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेशबाट ५ जना जिल्ला समन्वय समिति सदस्यहरुले एमाले छोडेर समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
प्रदेश १ मा जनता समाजवादी पार्टीबाट निर्वाचित कुनैपनि सदस्यले विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टी नरोजेको निर्वाचन कार्यालयले जनाएको छ ।