विराटनगर । नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गराएका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १० जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
चाम्लिङसहित जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईले पनि समाजवादी रोजेका छन् । बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडासदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका–८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका रामकुमार बस्नेतले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ।
एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने क्रम जारी रहेको र मंगलबार पनि यो संख्या थप हुने समाजवादीका जिल्ला सचिव जलशेर राईले बताए । अहिलेसम्म ४१ जनप्रतिनिधिले सनाखत गरेको र मङ्गलबार थपले सनाखत गर्ने उनको भनाइ छ ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो। खोटाङका प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन्। प्रतिनिधिसभा सदस्य विशाल भट्टराई भने एमालेमै छन्।
एमालेको २०७२ वैशाख १०–१४ गते सम्पन्न अधिवेशनमा निर्वाचित ५९ जिल्ला सदस्यमध्ये अध्यक्ष चाम्लिङसहित २३ सदस्य एकीकृत समाजवादीमा खुलेका छन्।