विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य एमसीसी विवादले आफ्नो सरकार जोगाउने आशामा छन् । यो विवादले अहिलेको पाँच दलीय गठबन्धन विभाजित हुने र त्यसको फाइदा आफूलाई हुने भन्दै आचार्यले आफू निकटकालाई आशावादी बनाइरहेका छन् ।
मुख्यमन्त्री बनेलगत्तै प्रदेशसभाको अंक गणितमा अल्पमतमा परेका आचार्यले सञ्चारमाध्यमसँग भन्न थालेका छन् ‘दलहरुबीचको गठबन्धन स्थायी हुँदैन । त्यसैले सम्भावना जे पनि हुनसक्छ ।’ शुक्रबार मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीसँग यसो भनेका आचार्य प्रदेश १ मा आफूलाई काँग्रेसले सघाउन सक्ने बताउँदै आएका छन् ।
‘काठमाडौंमा एमसीसी विवाद चर्किएको छ,’ मुख्यमन्त्री आचार्य निकट स्रोतको भनाइ छ ‘यस्तो बेलामा अहिलेको पाँच दलीय गठबन्धन ट्ुट्न पनि सक्छ । त्यसबेला प्रदेशमा काँग्रेस–एमाले गठबन्धन हुनसक्छ ।’
यदि मुख्यमन्त्री आचार्य र एमाले प्रदेशका नेताहरुले अनुमान गरे अनुसार एमाले र काँग्रेस एमसीसी पास गर्न प्रतिबद्ध छन् । प्रधानमन्त्री शेरबहादु्र देउवा संसद्बाट एमसीसी तत्काल पारित गरेर अघि बढ्ने योजनामा छन् भने माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु संशोधनसहित पारित गर्नुपर्ने अडानमा छन् ।
मुख्यमन्त्री आचार्यले देखेको सम्भावनाको यही सानो त्यान्द्रोकै कारण उनले
विश्वासको मत लिने बताउँदै आएका छन् । एमसीसी विवादले पाँच दलीय गठबन्धनमा दरार आयो भने त्यसको फाइदा आफूलाई हुने विश्वास मुख्यमन्त्रीको छ । त्यसैले कुनै पनि गठबन्धन स्थायी नहु्ने उनको बुझाइ छ ।
एमसीसीको विषयले गठबन्धनमा खटपट सुरु भएका समाचार आइरहेका छन् । यो समाचारले मुख्यमन्त्री आचार्यलाई उत्साही बनाएको छ । ‘उहाँले काँग्रेससँग एमालेको गठबन्धन हुने सम्भावना बढेको आंकलन गर्नुभएको छ’, आचार्य निकट स्रोतले भन्यो ‘मेरो सरकार एमसीसी विवादले लम्ब्याउन सक्छ भनेर उहाँले भन्दै आउनुभएको छ ।’
तर, काँग्रेस नेताहरु भने यस्तो सम्भावना नरहेको बताउँदै आएका छन् । प्रदेश १ काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने ‘यस्तो सम्भावना छैन । हामी गठबन्धन थप बलियो बनाउने अभियानमा जुटेका छौं ।’