विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य आफ्नै वडामा एक्लिएका छन् । लामो समयदेखि उनलाई साथ दिँदै आएका इनरुवा–६ का वडाध्यक्षसहितका केही जनप्रतिनिधि र एमाले कार्यकर्ताहरु एकीकृत समाजवादीमा खुलेपछि वडामै आचार्य एक्लिएका हुन् ।
शनिबार नेकपा एकीकृत समाजवादीले इनरुवामा नगरस्तरीय भेलाको आयोजना गरेको थियो । जहाँ आचार्यका लामो समयदेखिका विश्वासपात्रहरुश्र उपस्थित रहेर आफूहरु एकीकृत समाजवादीमा रहने घोषणा नै गरे ।
इनरुवा ६ का वडाध्यक्ष कोषराज अधिकारी आचार्यको साथ छाडेर एकीकृत समाजवादीमा लागेका छन् । आचार्यका छिमेकीसमेत रहेका अधिकारीले आइतबार एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जानकारी दिएका छन् ।
भीम आचार्यका पुराना सहयोगी समेत रहेका तीर्थ अधिकारी पनि समाजवादीमा लागेका छन् । उनी तत्कालीन नेकपा, जेठ २ अघिको एमाले र पछिल्लो समय आचार्यकै अगुवाइमा गठित एमाले समानान्तर कमिटीको नगर अध्यक्ष हुन् । शनिबारको कार्यक्रम उनकै नेतृत्वमा भएको हो ।
आचार्यसँग साँध जोडिएका छिमेकी एवम् जनप्रतिनिधि राजेश दाहाल पनि समाजवादीको पक्षमा खुलेका छन् । आफ्नै वडाका अध्यक्षहरुले साथ छाडेपछि आचार्यको भूमिका शंकास्पद देखिएको एमाले ओली पक्षका नेताहरुले जनाएका छन् । ‘यतिका ठूला नेताहरुले आफ्नै वडाका, नगरका कार्यकर्ता आफ्नो साथमा ल्याउन–राख्न नसक्दा शंका स्वाभाविक हुन्छ’, एमाले सुनसरीका एक जना अध्यक्ष रेवतीरमण भण्डारीले भने ‘यसले पार्टी वृत्तमा शंका जन्माएको छ ।’ सुनसरीमा अहिले जेठ २ लागु नभएको भन्दै एमालेमा विवाद तीव्र छ ।