संसदबाट विश्वासको मत लिन्छु : मुख्यमन्त्री आचार्य

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदबाट विश्वासको मत लिने बताएका छन् । सुनसरीको धरानस्थित एक उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो पार्टी विभाजन भएकोले संविधान बमोजिम विश्वासको मत लिने बताएका हुन् ।

प्रदेशसभाबाट आफूलाई विश्वासको मत प्राप्त हुने दाबी गर्दै मुख्यमन्त्री आचार्यले भने ‘प्रदेशसभाबाट मैले विश्वासको मत पाउँछु, यो सरकारले सत्ता लिप्सामा भन्दा विकासको काम गर्ने भएकोले विकासप्रेमिहरुले सहयोग गर्नेछन् ।’

मुख्यमन्त्रीले कुन दिन विश्वासको मत लिने तयारी गरेका हुन् भन्ने स्पष्ट पारेनन् । एक महिनाभित्र विश्वासको मत लिनै पर्ने भएकोले दल विभाजन भएको अवस्थामा पनि आफूले विश्वासमो मत लिने उनको भनाइ थियो । राजनीतिमा सबै कुरा सम्भव हुने भन्दै उनले विभिन्न राजनीतिक दलहरुसँग कुराकानी भइरहेकोले विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

दल विभाजन भएपछि सरकारले विश्वासको मत पाउने आधार गुमाएको छ । बहुमत सदस्यको विश्वासको मत प्राप्त गर्न र नयाँ समिकरण बनाउने विषयमा दलहरुबीच छलफल जारी रहेको भन्दै उनले त्यसमा आफू सफल हुने दाबी गरे ।

विभाजित भएपछि प्रदेशसभामा नेकपा एमालेसँग ४१ जना सांसद बाँकी रहेका छन् । १० जनाले विभाजित भएर बनेको पार्टी रोजेपछि ५१ जना सांसदसहित एकल बहुमतमा रहेको पार्टीको सरकार अल्पमतमा परेको हो । एमालेका ४१ सांसदमध्ये सभामुखले बराबरी भए बाहेकको अवस्थामा मतदान गर्न नमिल्ने र एकजना सांसद फौज्दारी अभियोग अदालतबाट प्रमाणित भएपछि फरार रहेका कारण मतदानमा भाग नलिने अवस्था छ । त्यसो हुँदा प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदा ३९ मत मात्र पाउने अवस्था छ ।
धरान–८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा स्थापना भएको ‘ब्राइट फिड प्रा.लि.’ नामक उद्योग शनिबार आचार्यले उद्घाटन गरे ।

आचार्यले विकास निर्माणको काममा तीब्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति–सुरक्षा र सुशासन तर्फ काम गर्न आफूसँग योजनाहरु रहेको बताए । उनले संघीय राजनीतिबाट केही योजना कार्यान्वयन गर्नकै लागि प्रदेशमा आएको उनले बताए । उनले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसाय व्यवसायलाई सरकारले प्रोत्साहन गर्ने भन्दै मुख्यमन्त्री भएपछि पहिलो औपचारिक कार्यक्रम धरानको औद्योगिक क्षेत्रबाटै आरम्भ गरेको उनले बताए ।

शनिबार, १९ भदौ, २०७८, साँझको ०५:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर