संखुवासभा । कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल खाँदबारीमा आइसोलेसन कक्ष निर्माण भएको छ ।
कोरोना भाइरसको प्रकोप बढ्न नदिन जिल्ला अस्पताल खाँदबारीमा ५ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो ।
आइसोलेसन कक्षमा आवश्यक उपकरणसमेत जडान गरिएको छ । अब कसैमा कोरोनाको संक्रमण देखिएमा सुरक्षित रुपमा उपचार गर्न आइसोलेसन कक्ष तयार गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो ।
व्यवस्थापन समितिका अध्यक्ष शाक्यका अनुसार आइसोलेसन कक्षलाई केही दिनमा ५ शय्यबाट थप गरेर ७ शय्याको बनाउने तयारी छ । कोरोना भाइरसको संक्रमण हुन सक्ने भएका कारण पूर्व तयारी गरेको अध्यक्ष शाक्यले बताउनुभयो । कोरोनाको परीक्षण गर्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री खरिद गर्न स्वास्थ्य सेवा विभाग र सामाजिक विकास मन्त्रालयलाई माग गरेको अस्पताल प्रशासनले जनाएको छ ।
जिल्ला अस्पताल खाँदबारीमा आउने बिरामी तथा कुरुवाहरुले साबुन पानीले हात धोएपछि मात्र भित्र जान पाउने व्यवस्था गरेको छ । कोरोना भाइरसबाट बच्न अस्पतालले मूलगेट छेउमा १० वटा बाल्टिनमा पानी र साबुनको व्यवस्था गरेको छ ।