भीम आचार्यको मुख्यमन्त्री बन्ने दौड

बहुमत जुटाउन पदको लोभ देखाउँदै, सांसद फकाउँदै

विराटनगर । आफ्नो पक्षमा बहुमत जुटाउन एमाले सचिव भीम आचार्यले धमाधम मनत्री पद बाँडिरहेको खुलेको छ ।

एमाले विभाजित बनेर बनेको नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना भएका सांसदलाई मन्त्री बनाउने आश्वासन दिँदै एमालेमै रोक्ने प्रयास गर्ने क्रममा सबैलाई पदको लोभ देखाइएको हो ।

उदयपुरकी एमाले सांसद सुनिता चौधरीका अनुसार नेपाल समूहका अधिकांशलाई केही दिनयता निरन्तर मन्त्री अथवा संसदीय समितिको सभापति पदको अफर आइरहेको छ । मन्त्री पदको आश्वासन आए पनि आफू राजनीतिक प्रतिबद्धताभन्दा बाहिर नजाने उनको भनाइ छ ।

मोरङकै अर्का एक सांसदले पनि मन्त्री पदको अफर आएको स्वीकारे । तीन दिनअघिसम्म मुख्यमन्त्री बन्न हच्किरहेका भीम आचायले बुधबार साँझ भने आफै पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर तत्कालै मुख्यमन्त्री बनाइदिन आग्रह गरेको स्रोतको भनाइ छ । आचार्य निकट स्रोतका अनुसार ‘मलाई मुख्यमन्त्री बनाए सदनमा बहुमत पुग्ने संख्या जोगाउँछु’ भन्ने प्रतिबद्धता उनले ओली सामु व्यक्त गरेका छन् ।

मुख्यमन्त्री बनेपछि मन्त्री र संसदीय समितिको सभापति फेरबदल गर्ने र नेपाल समूहका सांसदलाई एमालेमै टिकाउने वचन आचार्यले ओलीलाई दिएका हुन् । ओलीसँगको आचार्यको भेटपछि नै मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र आचार्यलाई अघि सार्ने तयारी एमालेभित्र भएको हो ।

दलको बैठकको सूचना नै फरक

यसैका लागि आजका लागि एमाले प्रदेश १ को संसदीय दलको बैठक आयोजना भएको छ । तर, सांसदहरुले भने फरक समयका लागि बोलाइएको बताएका छन् । ‘मलाई एउटै बैठकको सू्चना दुई फरक समयको आएको छ’, माधव नेपाल निकट सांसद उपेन्द्र घिमिरेले भने ‘एउटा नौ बजेका लागि छ, अर्को १० बजेका लागि भनिएको छ । कुनमा जाने, नजाने केही टुंगो भएको छैन ।’ सांसद सुनिता चौधरीले भने आफूलाई दलको बैठकबारे केही जानकारी नआएको बताइन् ।

एमालेका ओली पक्षधर सांसद विमल कार्कीले भने बैठक नौ बजेका लागि बोलाइएको बताएका थिए । एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले चाहिँ दलको बैठक बिहीबार ११ बजेका लागि बोलाइएको बताए । ‘आज ११ बजेका लागि दलको बैठक बोलाइएको छ’, उनले भने ‘बैठकले के गर्ने भन्ने तय गर्नेछ ।’

 

बिहिबार, १० भदौ, २०७८, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर