निर्वाचन आयोगद्वारा नेकपा एकीकृत समाजवादीलाई प्रमाणपत्र हस्तान्तरण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि निर्वाचन आयोगद्वाराआजै प्रमाणपत्र हस्तान्तरण

विराटनगर । निर्वाचन आयोगले माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीलाई प्रमाणपत्र दिएको छ ।

नेकपा एमालेबाट विभाजित सो पार्टीलाई निर्वाचन आयोगले आजै सनाखतका लागि बोलाएको थियो । सनाखत सकिएपछि आवश्यक छलफल गरी आयोगले आजै अबेर प्रमाणपत्र दिएको हो ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्‍याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको हो ।

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । माधव नेपाल पक्षले केन्द्रीय कमिटीमा अध्यादेशले व्यवस्था अनुसारको संख्या जुटाएको छ । तर, एक सांसद अपुग हुँदा संघीय संसदमा २० प्रतिशत पुर्याउन भने सकेन । एमालेको १५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । त्यो भनेको खुल संख्याको १९.४८ प्रतिशत हुन आउँछ ।

यद्यपि माधव नेपाललाई साथ दिने संघीय सांसदको संख्या ३३ पुगे पनि तीन जनाले सनाखत गर्न नपाउँदा संसदीय दलमा २० प्रतिशत नपुगेको हो । तीन जनाले सनाखत गर्न पाएको अवस्थामा संसदीय दलमा पनि २१ प्रतिशत हुने थियो ।

यसैबीच जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि निर्वाचन आयोगले आजै प्रमाणपत्र दिएको छ ।

लोसपाका सांसद र केन्द्रीय सदस्यहरुलाई पनि आयोगले आजै सनाखत गर्न बोलाएको थियो । नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।

यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्या ४० प्रतिशत हुन आउँछ ।

योसँगै नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संख्या ६ पुगेको छ । एमाले माओवादी र समाजवादी राजपाबीच एकता भएपछि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या तीनमा झरेको थियो । तर, एमाले माओवादीको एकता खारेजी, एमाले र जसपा विभाजन भएपछि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ पुगेको हो । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा रहेका छन् ।

बुधबार, ०९ भदौ, २०७८, रातीको १०:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर