विराटनगर । नेकपा एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसमेत प्रदेश १ का ९ जना केन्द्रीय नेता एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्न सहभागी भएका छन् ।
नेकपा एमालेभित्र चलिरहेको अन्तरसंघर्षमा माधबकुमार नेपाल समूहमा आवद्ध भएका १६ जना केन्द्रीय सदस्यहरुमध्ये ९ जनाले मंगलबार निर्वाचन आयोगमा उपस्थित भई विभाजनको पक्षमा सनाखत गरेका छन् ।
नवगठित पार्टीमा प्रदेश १ बाट २ जना मात्र संघीय सांसदहरुले साथ दिएका छन् । संघीय सांसदहरु वरिष्ठ नेता झलनाथ खनाल र तेह्रथुमका भवानी खापुङमात्र नयाँ पार्टीमा आबद्ध भएका छन् । वरिष्ठ नेता झलनाथ खनाल भारतको दिल्लीस्थित अस्पतालमा उपचाररत रहेकोमा निर्वाचन आयोगले दिल्लीस्थित नेपाली दुतावासमार्फत उनको सनाखत लिएको छ ।
खनालबाहेक केन्द्रीय सदस्यहरु भोजपुरकी जयन्ती राई, उदयपुरका जगन्नाथ खतिवडा, झापाकी गौरा प्रसाई, मोरङका घनेन्द्र वस्नेत, भोजपुरका राजेन्द्र राई, उदयपुरका बलदेव चौधरी, मोरङका डा.देउमान साम्बाहाम्फे र सुनसरीका महमत महफुज अन्सारी एकीकृत समाजवादी पार्टी गठन गर्न सहभागी भएका हुन् । खोटाङका राजन राई सनाखतको लागि निर्वाचन आयोगमा पुगेका भएपनि यसअघि नयाँ पार्टी दर्ताको लागि दिएको निवेदनमा नाम नभएको भन्दै आयोगले उनको सनाखत गराएन ।
एमालेभित्रको अन्तरसंघर्षका क्रममा माधव समूहमा रहेका एमाले सचिव भीम आचार्य र योगेश भट्टराईसहति केन्द्रीय सदस्यहरु रविन कोइराला, भाष्कर काफ्ले, जीवन घिमिरे, यज्ञराज सुनुवार र धर्मराज निरौलाले पार्टी विभाजनको पक्षमा साथ दिएनन् । भट्टराई र आचार्य एमाले बैठकमै सहभागी भइसकेका छन् भने अन्य केन्द्रीय सदस्यहरु पनि विभाजनको पक्षमा उभिएनन् । काफ्लेले निर्वाचन आयोगमा यसअघि विभाजनको लागि दिएको निवेदनमा हस्ताक्षर गरेको भएपनि सनाखत गर्न उपस्थित भएनन् ।
प्रदेश १ बाट नेपाल समूहमा रहेका संघीय सांसदहरु योगेश भट्टराई, पवित्रा निरौला, पर्शु मेघी गुरुङ, जयकुमार राई र यज्ञराज सुनुवार नेपाल नयाँ पार्टी गठनमा सहभागी भएनन् ।