यदु विष्ट
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको तयारी सुरु भएको छ । पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन, बुथ कमिटीदेखि केन्द्रसम्म नयाँ नेतृत्व स्थापित गर्न छलफलहरु सुरु भएका छन् । महाधिवेशनको सन्दर्भमा छलफल भइरहँदा नेपाली कांग्रेसभित्र थुप्रै सुधारका कामहरु गर्नुपर्ने देखिन्छ । मुख्यरुपमा मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीति स्थापित गर्नुपर्ने छ । अहिले पार्टीमा निष्ठाको राजनीति गर्नेहरु बिस्तारै कर्नरमा पर्दै गएको, माइनोरिटीमा पर्दै गएको अवस्था छ । पैसा, बल र शक्तिको राजनीति गर्नेहरु मेजोरिटीमा हुने र बिचार आदर्शलाई किच्दै जाने अवस्था छ । मूल्यको राजनीति गर्नेहरुलाई सबैले सहयोग गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।
नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी हो । त्यसैले यो विधि विधान र पद्दतिबाट चल्नुपर्छ । विधानले प्रत्येक वर्ष नेपाली कांग्रेसको जिल्ला सम्मेलन हुनुपर्छ भन्ने व्यवस्था गरेको छ । तर, हरेक वर्ष सम्मेलन हुँदैन, भएका पनि छैनन् । विधान अनुसार नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन प्रत्येक चार वर्षमा हुनुपर्ने थियो । तर, भएन । अहिले डेढ वर्ष ढिला भइसक्यो । समयमै महाधिवेशन भएको भए नयाँ नेतृत्व निर्वाचित भएको डेढ वर्ष भइसक्थ्यो र आउँदो अढाई वर्षमा फेरि अर्को नेतृत्व आउँथ्यो । समयमा महाधिवेशन नहुँदा नेतृत्व हस्तान्तरणको प्रक्रिया अवरुद्ध बन्यो । यसले पार्टीमा नयाँ पुस्ताको प्रवेश र उनीहरुको विकासलाई रोक्ने काम गरेको छ ।
हाम्रो पार्टीको टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिताको समस्या छ । पार्टीले गर्ने निर्णयहरु, पार्टीका तर्फबाट दिइने अवसरहरु सबै पारदर्शी हुनुपर्छ । हाम्रोमा आवश्यकता, क्षमता र योग्यताका आधारमा होइन निकटताका आधारमा टिकट वितरण गर्ने समस्या बढी छ । जस्तै कसैले वडाध्यक्षको टिकट दावी ग¥यो भने नेताहरुको निकटताका आधारमा टिकट दिइन्छ । चारजना प्रतिष्पर्धी छन् भने के आधारमा उसलाई टिकट दिइयो र अरुले पाएनन् भन्ने कुराको कुनै आधार हुँदैन । एउटा मापदण्डका आधारमा निर्णय गर्ने हो भने त्यो सबैका लागि पारदर्शी हुन्छ । तर, यहाँ त्यसको अभाव छ । धेरैको योगदानबाट पार्टी बनेको हुन्छ । त्यसैले यसले गर्ने निर्णयहरु सबैले अपनत्व लिनसक्ने हुनुपर्छ ।
अर्को कुरा नेपाली कांग्रेस ट्रेडिशनल पार्टी हो । यहाँ २००७ सालका पार्टी सदस्य र अहिले भर्खर क्रियाशील लिएकाहरु सँगै छन् । उनीहरु दुवैको क्रियाशील सदस्यताको समान अधिकार हुन्छ । कांग्रेसको विधानमा क्रियाशील सदस्यता पाएलगत्तै माथिल्लो कमिटीमा जाने अधिकार रहन्छ । हाम्रोमा त्यो पुरानो पुस्ता र नयाँ पुस्ताका बिचमा ठूलो अन्तरद्वन्द्व छ । त्यसलाई समन्वय गर्नु र सहज ढंगले व्यवस्थापन गर्दै अगाडि बढाउनु आजको आवश्यकता हो । हामी नयाँ नेतृत्वमा आइसकेपछि सबैलाई काम र सम्मान दिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्छौं । प्रष्ट हुनुपर्ने कुरा के हो भने राजनीतिमा लाग्ने सबैले पद पाउँदैनन् । सबै वडाध्यक्ष, मेयर, सांसद वा मन्त्री हुँदैनन् । तर, पार्टीमा सबैको योगदान भएको हुन्छ । योगदानका आधारमा सबैलाई सम्माननित अवस्था कसरी कायम गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ । सबैलाई सम्मानित हुने अवस्था बनाउन सकियो भने नेपाली कांग्रेस एउटा जीवन्त पार्टीको रुपमा अगाडि बढ्नसक्छ ।
अर्को समस्या के छ भने राजनीतिप्रति युवापुस्तामा निकै ठूलो वितृष्णा पैदा भएको छ । राजनीतिमा भएको भ्रष्टिकरणले त्यो वितृष्ण पैदा भएको हो । हाम्रो राजनीतिमा ठूलो भ्रष्टिकरण छ । राजनीति सेवाको रुपमा स्थापित छैन । यसलाई पेशाको रुपमा बुझ्ने गरिएको छ । राजनीतिलाई वास्तवमै सेवाभावको रुपमा लैजान सक्नुपर्छ । त्यसो भयो भने राजनीतिप्रति नयाँ पुस्ता आकर्षित हुन्छ । अहिलेको पुस्तामा राजनीतिप्रति घृणा छ । त्यो घृणा गर्ने वातावरण हामी राजनीति गर्नेहरुले नै सिर्जना गरेका हौं । हाम्रो नेतृत्वको शैली, काम गर्ने तौरतरिका जस्तो छ त्यो शैली र तौरतरिकाले राजनीतिप्रति वितृष्णा पैदा गराएको हो ।
अर्को भनेको लामो समय पार्टीमा काम गरेका कार्यकर्ताहरु धेरै अन्यायमा परेका छन् । त्यसैले हामी कमसेकम पनि पार्टीमा आस्था राख्ने, काम गर्ने कार्यकर्ताहरुलाई अन्याय हुन नदिने तर्फ सचेत हुनुपर्छ । हामी त्यो मान्यतालाई स्थापित गर्न चाहन्छौं । ठूलो न्याय गर्न नसकिएला । तर, अन्याय हुन दिइनुहुन्न भन्नेमा सचेत रहनुपर्छ । पार्टीभित्र अहिले अन्यायमा परेकाहरुको जमात ठूलो देखिन्छ । हामी त्यो अवस्था अन्त्य गर्न चाहन्छौं र सबैलाई न्याय हुने गरी पार्टी चलाउने प्रणालीको विकास गर्न चाहन्छौं ।
मोरङमा गिरिजाबाबुकै सामिप्यतामा रहेर हामीले काम गरेका हौं । हामीले उहाँकै निर्देशनमा काम ग¥यौं । त्यो लिगेसी बोकेर आउनेहरु हामी सबै आगामी जिल्ला अधिवेशन र महाधिवेशनमा सँगै हुनेछौं भन्ने मलाई लाग्छ । जिल्ला अधिवेशनको नेतृत्व दावी गर्दैगर्दा फलाना फलााना नेताहरुको साथ र सहयोग छ भनेर हामी भन्दैनौं । हामी राजनीतिक बिचार, आदर्श, मूल्य र मान्यतासहित एउटा दृष्टिकोण अगाडि सारेर राजनीति बढाउन चाहन्छौं । समाजवादका सन्दर्भमा, आर्थिक कार्यक्रम र संगठनका बारेमा हाम्रो भिन्न दृष्टिकोणहरु छन् । त्यस विषयलाई हामी जिल्ला अधिवेशनका क्रममा तलदेखि नै छलफलमा लैजान्छौं र लगिरहेका पनि छौं । यस एजेण्डामा सहमत हुनेहरु महाधिवेशनमा सँगै हुनेछौं । सिधा भाषामा भन्नुपर्दा अहिले हामी पुरानो संस्थापन अन्तर्गत छौं । तर, बिचारका आधारमा हेर्दा बैचारिक धार र मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीति स्थापित गर्नुपर्छ भन्ने धारको प्रतिनिधित्व गर्छौं । नेपाली कांग्रेसलाई सही बाटोमा लैजानका लागि मूल्य, मान्यता र आदर्शको राजनीति नै स्थापित गर्नुपर्छ भन्ने हो । तर, अहिलेको समग्र राजनीतिक अवस्था कस्तो छ भने पैसावालाहरु, माफियाहरुको प्रभाव र रवाफ देखिन्छ । त्यो रवाफ हेर्दा उनीहरु बलिया छन् कि भन्ने लाग्दछ । तर, त्यो प्रवृत्ति बिस्तारै कमजोर बन्दै गएको छ ।
निर्वाचन लढ्ने स्वतन्त्रता सबैलाई छ । तर, जसको नीति उसको नेतृत्व हुन्छ र हुनुपर्छ । बैचारिक रुपमा हुने बहस छलफलले नीति र नेतृत्वको मूल्यलाई स्थापित गर्छ । अहिले कांग्रेसको महाधिवेशन नजिक आउँदै गर्दा नेतृत्व दावी गर्दै आउनेहरु धेरै हुनसक्छन् । विधानको मापदण्ड पुरा गरेर प्रतिष्पर्धामा आउनेहरुबीच प्रतिष्पर्धा हुने कुरा हो । नेतृत्व दावी गर्दै गर्दा उसले समाज परिवर्तनका लागि अगाडि सर्ने एजेण्डाहरु, पार्टीलाई राजनीतिक बैचारिक रुपमा सुदृढ र लोकतान्त्रिक बनाउने मुद्दाहरुमा छलफल र बहस हुनुपर्छ । व्यक्तिगत रुपमा चुनावमा को–को आउँछन् भन्नेसँग भन्दा पनि मूल्य, मान्यता र बैचारिक विषयमा एकमत हुनेहरु सँगसँगै अगाडि जाने अवस्था हुन्छ ।
नेपाली कांग्रेसको प्रदेशको संरचना संविधान आएलगत्तै बन्नुपथ्र्यो । प्रदेशको संरचना समयमा बन्न सकेन । तर, स्थानीय तहमा त्यो संरचना बन्यो । त्यसैले प्रदेश तह सक्रिय नभएसम्म जिल्लालाई बलियो नै बनाएर लैजानुपर्छ । पछि चाँही प्रदेश र स्थानीय तहलाई बलियो बनाउनैपर्छ । हाम्रो नेतृत्वमा अहिले पनि पुरानै सोच छ । अधिकार सकेसम्म आफैंसँग राख्ने भन्ने मान्यता छ । हामीले प्रदेश तहलाई नै सक्रिय र अधिकारसम्पन्न बनाउनुपर्छ । केन्द्र, प्रदेश, र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्छ । पार्टीले प्रदेशको संरचनालाई कसरी लैजाने भन्ने विषय अब महाधिवेशनबाटै निर्णय गर्दा उपयुक्त हुनेछ ।
पार्टीमा एक व्यक्तिलाई समानुपातिक अवसर एक पटकभन्दा दिइनु हुँदैन । प्रत्यक्ष निर्वाचनमा पनि एक व्यक्तिलाई एउटै दुई पटकभन्दा बढी अवसर दिइनुहुन्न । पार्टीमा यतिधेरै मानिसहरु आवद्ध छन् कि उनीहरु सबैले योगदान गरेका हुन्छन् र छन् । सँधै एउटै मानिस चुनाव लडिरहने हो भने अरु मानिसहरु किन राजनीतिमा लागिरहन्छन् ? उसले पार्टीमा किन काम गर्छ भन्ने कुरा आउँछ । सबैले अवसर पाउने गरी पार्टीले पद्दतिको विकास गगर्नुपर्छ । त्यो अवसरको वातावरण खुला हुनुपर्छ । हामीले विधान संशोधनको छलफल हुँदा महासमिति बैठकमा यो विषय उठाएका थियौं । तर, यो विषय पारित हुन सकेन । हामी यसलाई एजेण्डाको रुपमा निरन्तर अघि बढाउँछौं ।
जसरी प्रधानमन्त्री हुन जनताका बीचबाट प्रत्यक्ष मत लिएर आउनुपर्छ, त्यसरी नै हाम्रो पार्टीको सभापति हुन पनि हरेक पाँच वर्षमा तल्लो तहबाट प्रतिनिधिको रुपमा निर्वाचित भएर आउनुपर्छ भनेर हामीले भनेका छौं । त्यो जरुरी पनि छ । अहिले हामीले अभ्यास गरेको प्रणाली लोकतान्त्रिक छैन । केन्द्रीय कमिटीका सदस्यहरुले कार्यकर्ताबाट निर्वाचित हुननपर्ने र सिधै प्रतिनिधि बन्ने व्यवस्थाले सुविधा पाउनेले सँधै पाइरहने र नपाउनेले सँधै संघर्ष गरिरहनुपर्ने जस्तो अवस्था बनाएको छ । यो विषयलाई पनि हामी एजेण्डाको रुपमा उठाएका छौं ।
नेपाली कांग्रेसलाई बैचारिक रुपमा अगाडि बढाउनुपर्छ भनेर जिल्लाहरुमा समूह बनाएरै हामी क्रियाशिल छौं । मोरङमा पनि स्थानीय तहहरुमा यसलाई एउटा अभियानकै रुपमा हामीले बढाएका छौं । मलाई लाग्छ, यस पटक हामीले राम्रो परिणाम प्राप्त गर्नेछौं । बिचार भएमात्र त्यसले समाजलाई रुपान्तरण गर्न सकिन्छ भन्ने भन्ने मान्यतालाई अगाडि बढाउनुपर्छ । पार्टीभित्र अहिले पढ्ने, अध्ययन गर्ने बानी र प्रवृत्ति कमजोर बनेको छ । नयाँ पुस्तालाई आकर्षित गर्न राजनीतिले मुलुकलाई एउटा सहि दिशामा लैजाने औजार हो भन्ने कुरा बुझाउन जरुरी छ । अहिलेका युवाहरु अवसरको खोजीमा देखिन्छन् । राजनीतिको माध्यमबाट त्यो अवसर प्राप्त हुन्छ भन्ने विश्वास नभएसम्म नयाँ पुस्ता र असल मानिसहरु राजनीतिमा आउँदैनन् । त्यसैले हामी बैचारिक राजनीतिलाई स्थापित गर्ने प्रयत्नमा लागिरहेका छौं ।
अहिले धन हुने र नहुनेलाई समाजले गर्ने व्यवहार, हेर्ने दृष्टिकोणमा निकै अन्तर छ । सरल जीवनयापन गर्नेलाई समाजले नपत्याउने तर हाइफाई गर्ने, आठ दश मानिसलाई जाँड रक्सी खुवाउदै हिड्नेलाई नै समाजले पत्याउने र सम्मान गर्ने जस्तो व्यवहारले पनि राजनीति गलत ठाउँमा गइरहेको छ । समाजको यस्तो सोच र व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । त्यसैले हामीले कांग्रेसमा राजनीतिक बैचारिक धार बलियो बनाउनु पर्छ भनेर समूह बनाएरै काम गरिरहेका छौं र हामी राजनीतिलाई सम्मानित र आशावादी बनाउँदै युवाहरुलाई यसप्रति आकर्षित गर्ने दिशामा क्रियाशिल छौं ।
(कुराकानीमा आधारित)