विराटनगर । जनता समाजवादी पार्टीले जहदा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जयनरथ गिरीलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीको विधान विपरीत नेकपा एमाले (ओली) नेतृत्वको पार्टी संगठन विस्तारमा लागेको भन्दै जसपाको जिल्ला कार्यसमिति मोरङले उनलाई स्पष्टीकरण सोधेको हो । जहदा गाउँपालिकाका सचिवसमेत रहेका वडा अध्यक्ष गिरीले विगत केही महिनादेखि पार्टीको विधान विपरीत नेकपा एमाले ओली समूहको संगठन विस्तारमा क्रियाशिल रहेको पाइएपछि स्पष्टीकरण माग गरिएको जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए ।
स्पष्टीकरणमा भनिएको छ, ‘पार्टीको विधान विपरीत नेकपा एमालेको संगठन विस्तारमा लागेकाले तपाईलाई पार्टी र जनप्रतिनिधिको जिम्मेवार पदबाट पदमुक्त किन नगर्ने ? सोको चित बुझ्दो लिखित जवाफसहित जसपाको जिल्ला समन्वय समितिको कार्यालयमा स्वयंम उपस्थित हुन निर्देशन गर्दछु ।’
राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा दल त्यागसम्बन्धी व्यवस्था छ । यस ऐनको दफा ३१ (१) मा कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसदको सदस्य, प्रदेशसभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न नसक्ने व्यवस्था गरिएको छ ।
दल त्याग गरेमा के हुन्छ भन्ने विषयमा दफा ३१ को (२) मा भनिएको छ, ‘उपदफा (१) प्रतिकूल हुने गरि कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।’