विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी दसैं अगाडि नै प्रदेश १ सरकार परिवर्तन हुने दावी गरेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नेकपा एमाले विभाजित भए वा नभएपनि प्रदेश सरकार परिवर्तन हुने निश्चित भएको दाबी गरेका हुन् ।
मंगलबार संसदीय दलको कार्यालयमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक कार्कीले दसैं अगाडि नै प्रदेशमा नयाँ सरकार बनाउने गृहकार्य सुरु भइसकेको बताएका हुन् । उनले भने ‘आउँदो दसैँअगाडि नै प्रदेश नम्बर–१ मा नयाँ सरकार गठन हुन्छ, सरकार कसले बनाउँछ भनेर अहिले चर्चा नगरौं तर यो सरकार भने रहने छैन ।’
प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अचानक अन्त्य गर्नुको तात्पर्य सत्ता र सरकारमा आएको संकटनै भएको दावी गर्दै प्रमुख सचेतक कार्कीले भने ‘होइन भने मुख्यमन्त्रीले पटक पटक संसदमा उभिएर व्यक्त गरेको प्रतिवद्धता अनुरुप नामाकरणको प्रस्ताव नै नल्याई किन सदन अन्त्य गरियो त !’
उनले प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्ने अनौठो भन्दा पनि विगतकै कार्यलाई पुनरावृत्ति गरेको र सरकारले पछिल्लो एक वर्ष कुनै बिजनेश नदिई सदनलाई छल्ने काम गरेको बताए । ‘हरेक पटक सत्ता संकटमा पर्दा संसद अधिवेशन अन्त्य गर्ने र सदनले काम गर्न खोज्दा सत्तारुढ दलले नै सदन बहिस्कार गर्ने गलत संस्कार बसाल्ने कम यस बिचमा भए,’ उनले भने ।
अहिले पनि सत्ता अप्ठेरो अवस्थामा पुगेकोले केही समय भए पनि कुर्सी जोगाउन प्रदेशसभा अधिवेशन अन्त्य गरिएको कार्कीको आरोप छ । सरकारले ल्याएको बजेट फेल भएको जिकिर गर्दै उनले प्राविधिक रुपमा मात्र बजेट पास भएको नेता कार्कीले बताए । ‘बजेट नैतिक रूपमा फेल भएको हो । प्राविधिक रूपमा मात्र पास मानिएको हो । सत्तापक्षका सांसदले विरोध गरे ।
सरकारभन्दा विपक्षी जिम्मेवार भएर पास गराएको हो,’ कार्कीले भने, ‘मुख्यमन्त्रीले यही अधिवेशनमा नामकरण गर्ने भनेर सदनको पहिलो अधिवेशनदेखि नै रटान लगाएको र यो थेगो नै बनेको छ । नाम ल्याउने भएको भए पहिले दुईतिहाइ थियो, अहिले बहुमत छ । किन प्रस्ताव नगरेको त ?’ उनले नामका लागि नेपाली कांग्रेस छलफल गर्न सँधै तयारी अवस्थामा रहेको बताए ।
अहिले अध्यादेशको चर्चाले चालु अधिवेशनमा आउला भनेर कागजात मिलाउन सरकारले अधिवेशन अन्त्य गरेको हुन सक्ने आरोप पनि प्रमुख सचतेक कार्कीले बताए ।