विराटनगर । विराटनगर महानगरपालिकाको साझेदार संस्थाको रुपमा रहेको वेस्ट म्यानेन्जमेण्ट गु्रपले विराटनगरस्थित भारतीय सीमावर्ती क्षेत्र रानीमा सरसफाई गरेको छ ।
स्वच्छ वातावरण हाम्रो पहिचान, सफा विराटनगर हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको महाअभियान अन्तर्गत बुधबार सरसफाई गरिएको हो ।
विभिन्न स्थानीय अभियन्ताहरुको सहकार्यमा वेस्ट म्यानेजमेन्ट गु्रपले वि.सं. २०७३ मंसिरदेखि महाअभियानको थालनी गरेर हरेक हप्ता विराटनगरका विभिन्न स्थानहरुमा सरसफाई गर्दै आएको जनाएको छ । यद्यपि चालु आर्थिक वर्षको फागुन ८ गतेदेखि हरेक दिन महानगरको फरक क्षेत्रमा प्रभावकारी ढङ्गबाट सरसफाई गर्न विशेष सरसफाई अभियान थालनी गरिएको वेस्ट म्यानेन्जमेण्ट गु्रपका अध्यक्ष देवी आचार्यले बताउनुभयो ।
नियमित सरसफाई अन्तर्गत बुधबार १ सय ७४ औं हप्तामा प्रवेश गर्दै विराटनगर रानी भन्सार क्षेत्रमा सरसफाई गरिएको हो । विराटनगरलाई नमुना शहरको रुपमा विकास गर्न हरेक हप्ताको शुक्रबार विराटनगर बसपार्क, बुधबार रानी भन्सार र सोमबार विराटनगर ६ स्थित सरोचिया क्षेत्रमा सरसफाई गरिने वेष्ट म्यानेन्जमेण्ट गु्रपले जनाएको छ ।
विराटनगर महानगरपालिकाभित्र जम्मा जम्मा ६० हजार घरपरिवारहरुमध्ये १० हजार बराबरको घरपरिवारले वेष्ट म्यानेजमेन्ट गु्रपबाट सरसफाई सम्बन्धी सेवा लिईरहेका छन् । महानगरसँगको सम्झौता अनुरुप दैनिक फोहोर संकलन गर्न विराटनगरमा २५ वटा ट्याक्टर र ३ सय जना कर्मचारीहरु खटाईनेछ ।
विराटनगरको फाहोर व्यवस्थापन हुन नसक्दा यो अभियानले प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास लिईएको छ ।