विराटनगर । प्रदेश १ सरकारले अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्न संसद्मा विधेयक पेश गरेको छ ।
‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबारको प्रदेशसभा बैठकमा सरकारले पेश गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संसद्मा विधेयक पेश गर्दै प्रतिष्ठानले अनुसन्धानको काम पनि गर्ने र मानव संशाधनलाई प्रभावी बनाउन सहयोगी हुने बताए । यो प्रतिष्ठान झापामा स्थापना हुने भएको छ ।
पञ्चायतकालमै स्थापना भएर लामो समय अलपत्र जस्तै अवस्थामा रहेको झापा चन्द्रगढीको कलबलगुढी प्रशिक्षण केन्द्रमा प्रदेशले यो प्रतिष्ठान बनाउने भएको हो । भद्रपुर नगरपालिका १० नम्बर वडामा रहेको कलबलगुढी प्रशिक्षण केन्द्रको फराकिलो क्षेत्रफलसहितको संरचना संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरिसकेको छ ।
सोही ठाउँमा अनुसन्धान र प्रशिक्षण प्रतिष्ठान सञ्चालनको तयारी प्रदेशले गरेको हो । ‘सरकारी तथा सार्वजनिक प्रतिष्ठानको मानव संशाधनलाई प्रशिक्षण प्रदान गर्न प्रतिष्ठान स्थापना गरिने’ प्रस्तावित विधेयकमा उल्लेख छ । ‘प्रदेशका निजामति कर्मचारी, स्थानीय तहका कर्मचारी, सार्वजनिक प्रतिष्ठानका जनशक्ति तथा प्रदेशका अन्य जनशक्तिलाई दक्ष, सक्षम बनाउने र उनीहरुको कार्यसम्पादन प्रभावकारी बनाउने’ लक्ष्य प्रतिष्ठानको रहने सरकारले जनाएको छ ।
अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अविछिन्न उत्तराधिकारीवाला र स्वायत्त हुने पनि संसद्मा पेश भएको विधेयकमा उल्लेख छ । प्रतिष्ठान सञ्चालनका लागि मुख्यमन्त्रीको नेतृत्वमा परिषद गठन हुने र त्यही परिषद प्रतिष्ठानको सर्वोच्च निकाय हुने विधेयकमा उल्लेख छ । प्रतिष्ठानको दैनिक कार्य सञ्चालनका लागि कार्यकारी निर्देशकसहितका कर्मचारीहरु, प्राध्यापन, प्रविधि क्षेत्रका जनशक्तिहरुको व्यवस्थापन गरिने विधेयकमा उल्लेख छ ।
झापाको कलबलगुढीमा प्रतिष्ठान मुख्यालय रहे पनि यसले प्रदेशका सबै जिल्लाहरुमा घोषित लक्ष्य प्राप्तिका लागि काम गर्ने विधेयकमा उल्लेख छ । त्यस्तै प्रदेशका अन्य प्रशिक्षणमुलक संघ–संस्थाहरुको नियमन पनि यही प्रतिष्ठानले गर्ने विधेयकमा प्रस्ताव गरिएको छ ।