विराटनगर । नेपाली काँग्रेसका क्रियाशील सदस्यले अब आफ्नै गाउँ–नगरको पार्टी नेतृत्व पनि प्रत्यक्ष चुन्न नपाउने भएका छन् ।
क्रियाशील सदस्यको भूमिका खुँच्याउँदै काँग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाएको हो । विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने निर्णय गरेको छ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो। पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ, नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत गरिएको छ।
सभापतिबाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि बन्न पाउँछन्। यसका लागि मतदाता भने वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
‘विधानमा उल्लेख गरिएको क्रमशः गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ निर्णय केन्द्रीय समितिबाट भएको छ।
यो संशोधनलाई आगामी महाधिवेशनबाट अनुमोदन गर्ने कांग्रेसको तयारी छ। यस्तै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा विधान र नियमावलीमा भएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ।
अब वडा सभापति र क्षेत्रीय प्रतिनिधिले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वबारे निर्णय गर्न सक्नेछन्।