माधव समूहले बनायो विराटनगरमा अखिल फोर्स

विराटनगर । नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तिब्र बनाउने क्रममा शनिबार विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरेको छ ।

विराटनगर २ तीनपैनीमा रहेको पार्टी कार्यालयमा शनिबार विद्यार्थीहरुको भेला आयोजना गरी रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय महानगरस्तरीय अखिल फोर्स गठन गरेको हो । अखिल फोर्स विराटनगरको सहसंयोजकमा बिक्रम सिंह रहेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य महेश रेग्मीले केपी शर्मा ओलीहरुले पार्टी कार्यालयको ढोकामा ताल्चा लगाएर बसेभने नयाँ पार्टी खोल्ने विकल्प क्रान्तिकारीहरुसँग सुरक्षित हुने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको ७० वर्षदेखिको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको दुई पार्टी बीच एकता भएपछि आएको उत्साहलाई चकनाचुर बनाएको टिप्पणी गरे । ओलीमा बढेको तानाशाह र भ्रष्टप्रवृत्ति, दम्भ र उनका क्रियाकलापले सबै कम्युनिष्ट सदस्यहरुले शीर निहु¥याएर हिड्न पर्ने अवस्थामा पु¥याएको भन्दै अब उनका गलत कदम विरुद्ध अन्तिमसम्म संघर्ष गर्ने र पार्टी एकता जोगाउने प्रयत्न हुने बताए । एकता जोगाउन नसके नयाँ पार्टी बनाएर भएपनि आन्दोलन जोगाउउने उनको भनाइ थियो ।

नेता रेग्मीले मुलुक परिवर्तन गर्ने दायित्व युवाहरुको काँधमा रहेको भन्दै कम्युनिष्ट आन्दोलनका झण्डा युवा विद्यार्थीहरुले बोक्नु पर्ने भन्दै युवालाई सिर्जनशील भएर काम गर्न आग्रह गरे ।

अनेरास्ववियूका केन्द्रीय सहअध्यक्ष ओसिम आलमको उपस्थितमा फोर्स गठन भएको हो । त्यस क्रममा विद्यार्थी नेता आलमले शिक्षा र राजनीतिक क्षेत्रमा रहेका माफियाहरुका विरुद्ध युवा विद्यार्थीहरुले सचेतना र परिवर्तनकारी अभियान सञ्चालन गर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले मोरङका सचिवालय सदस्य पारुल क्षेत्री, युवा नेता नरेन्द्र वस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

शनिबार, ३० साउन, २०७८, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर