एमालेका कारण प्रदेश नामाकरणमा ढिलाइ भयो : प्रमुख सचेतक कार्की

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नेकपा एमालेका कारण प्रदेशको नामाकरणमा ढिलाइ भएको बताएका छन् ।

प्रदेश १ प्रदेशसभाको शनिबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले नामाकरणका लागि छलफल गरौं भनि प्रस्ताव गर्दा आफ्नो दलभित्र छलफल गर्छौं भन्ने एमालेल अरु दललाई दोष दिन नमिल्ने बताएका हुन् । ‘हामीले नामाकरणको प्रकृया बढाऔं भन्यौं तर, दलभित्र छलफल गर्छौं भनेर एमालेका साथीहरुले भन्नुभयो,’ प्रमुख सचेतक कार्कीले भने ‘हिजो मुख्यमन्त्रीले दलहरुले समय मागेका कारण ढिलाइ भयो भन्ने प्रतिकृया दिनुभएछ, यो झुट कुरा हो ।’

प्रमुख सचेतक कार्कीले व्यङ्ग्य गर्दै भने ‘पहिले बिहे र नामाकरण सँगै भन्नुहुन्थ्यो अब प्रदेशको नामाकरण र न्वारान सँगै गर्ने हो भनेर जनताले प्रश्न गर्न थालेका छन् ।’ उनले नामाकरणको सम्बन्धमा सभामुखले कार्यविधि बनाएर छलफलका लागि प्रस्ताव गर्न सक्ने भएकोले भोलि नै प्रस्ताव बढाउन आग्रह गरे । उनले भने ‘सभामुखले भोलि नै सूचना निकाल्नुस् हामी तयार छौं, एमालेले दलभित्र छलफल गर्छौं भनेको छ तर अरुले समय मागेको भन्न थालियो ।’

प्रदेश सरकार सुध्रिएला भनेर लामो समय पर्खिएको तर सुध्रिने सम्भावना नरहेको भन्दै उनले सरकारको चर्को आलोचना गरे । कोरोना कोषमा राखेको पैसाको हिसाब सांसदले माग्दा समेत नदिने सरकारले सरकारी बजेटमा भ्रष्टाचार गरेरमात्र नपुगेर कोषको रकम पनि निजी सुविधामा प्रयोग गरेकोमा नेता कार्कीले आक्रोश पोखे । उनले भने ‘सरकारी बजेट भ्रष्टाचार गर्ने अनि त्यतिले नपुगेर कोषको नाममा पैसा उठाएर पनि खाने ?’ उनले प्रदेश सरकारले बनाएको भनिएको कोशी कोभिड बन्द हुँदा सर्वसाधारणले लाखौं खर्चेर निजी अस्पतालमा उपचार गर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

भूमि आयोग खारेज भएको विषयमा नेकपा एमालेका सांसदहरुले चर्को रुपमा बोलेको भन्दै प्रमुख सचेतक कार्कीले बुढिगंगा गाउँपालिकामा पर्ने सिसवनी बडहरामा ओली सरकारले जग्गाबिनाको लालपूजा बाँडेको आरोप लगाए । लालबाबु पण्डितले हस्ताक्षर गरेर ४०० परिवारको नाममा बाँडेको लालपूर्जाधनीहरुले जग्गा नपाएको भन्दै एमालेले गरीबको भावनामा खेल्ने काम मात्र गरिरहेको आरोप लगाए ।

संघीय सरकारमा फेरबदल भएपछि विगतको सरकारले गरेको, यति ओम्नी, गिरीबन्धु टि स्टेट, ७० करोडको घटान आदि विषयमा छानविन हुने र लेनदेन गरेको विषय खुल्ने त्रासले अरिंगालहरु भुन्भुनाउन थालेको भन्दै कार्कीले कटाक्ष गरे । उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यकर्ता भर्ति गरेर गरेको भ्रष्टाचारको विषय खुल्ने डरले त्यसलाई लुकाउन चर्को बोल्न थालेको आरोप लगाए ।

 

बुधबार, २७ साउन, २०७८, दिउँसोको ०३:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर