जसपाको एकल अध्यक्षमा उपेन्द्र यादव, महन्थ ठाकुरलगायत साधरण सदस्य मात्रै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष एकै जना हुने गरी निर्वाचन आयोगले सूचीकरण गरेको छ । यसअघि जसपाको पहिलो अध्यक्ष महन्थ ठाकुर र दोस्रो अध्यक्षमा उपेन्द्र यादव कायम थिए ।

ओली सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा विभाजित बनेको जसपाको बहुमत कार्यकारिणी सदस्यहरुको टिम उपेन्द्र यादवमा रहेको थियो । बहुमत पक्षले निर्वाचन आयोगमा आफूहरु आधिकारिक रहेको र ठाकुर पक्ष अल्पमतमा रहेको भन्दै आधिकारिताको माग गरेका थिए । सोही माग बमोजिम निर्वाचन आयोगले महन्थ ठाकुर पक्ष बिनाको कार्यकारिणी समिति नै जनता समाजवादी पार्टीको आधिकारिक समिति रहेको ठहर गरेको हो ।

जस अनुसार जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समिति ३५ सदस्यीय भएको छ । ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतको हैसियत साधारण सदस्यमात्र भएको छ ।

जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति रहेको थियो । ३४ जनाले यादव पक्षमा उभिएका थिए भने १६ जना ठाकुर पक्षमा । दुवैतिर नलागेका रेशम चौधरीलाई भने उपेन्द्र पक्षले कार्यकारिणी समितिमा नै स्थान दिएको छ ।

सोमबार, २५ साउन, २०७८, दिउँसोको ०४:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर