जिल्लामा एक आर्थिक वर्षको अवधिमा ६७६ जना महिलाहरुले गर्भपतन गराएका छ्न । जसमा भदौ र फागुन महिनामा ७० जाना माघ महिनामा ७८ जाना बैशाख महिनामा ८६ जाना महिलाले गर्भपतन गराएका छ्न् । यो बाँकी ८ महिनाको संख्या भन्दा धेरै हो ।
पाँचथरमा साउन महिनामा ५२ जना , असोजमा ४९ जना, कात्तिकमा ४६ जना, मंसिर र पुसमा ५० जना , चैतमा ५६ जना, जेठमा ३३ जना र असार महिनामा ३५ जना महिलाहरुले गर्भपतन गराएको तथ्यांक छ । आर्थिक वर्ष २०७७/७८ को पाँचथर अस्पतालको तथ्यांक अनुसार गत आर्थिक वर्षको तथ्यांककै अनुपातमा यस पटक पनि गर्भपतन भएको देखिएको छ । हरेक महिनाको तथ्यांकमा थोरै कमबेसी भएपनि कुलसंख्या भने उस्तै छ । तरपनि गर्भपतनको अवस्था हेर्दा परिवार नियोजनको अस्थायी साधनकै रुपमा यसलाई अवलम्बन त गरिरहेका छैनन् भन्ने प्रश्न गर्न सकिने अवस्था छ ।
नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएपनी गर्भपतन गराउनु महिलाहरुका लागि आफैंमा जोखिमपूर्ण हो । यसले महिलाको पाठेघर एवं प्रजनन् स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकको भनाइ छ । गर्भपतनको क्रममा कतिपयको ज्यान जाने जोखिम रहन्छ । कतिपयको स्वास्थ्य स्थिति एकदमै नाजुक बन्न पुग्छ । हाल नेपाल सरकारले वैधानिक स्वास्थ्य संस्थाबाट १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन कानुनी मान्यता दिएको छ ।
गर्भ रहेको अवधिदेखि आवश्यक प्रक्रिया पूरा गरेर गराइने गर्भपतनलाई मात्र सुरक्षित मान्न सकिन्छ । गर्भपतन महिलाको ज्यान र शरिर जोखिम रहेको विषय हो तर कतिपय महिलाले यस्लाई गलत प्रयोग गरिरहेको पाइएको जिल्ला अस्पताल पाँचथरकि नर्स लक्ष्मी जोशी बताउँछिन् ।
जोशी भन्छिन् ‘शिक्षित परिवारबाटै पटक पटक गर्भ फाल्ने गरेको घटना भएको छ, । हामी परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिन्छौं तर त्यसलाई टार्ने पालना नगर्ने गरेको पाउँछौं । कसैकसैले त सरकारले मान्यता नदिएका स्वास्थ्य चौकीबाट पनि गर्भपतन गराएर अत्याधिक शारीरिक तनाव र जोखिम लिएर पनि आउनुहुन्छ । गलत औषधि खाएर कतिको त ज्यान नै अति खतरामा हुने गरेको छ ।’ उनी थप्छिन ‘नेपाल सरकारले निःशुल्क रुपमा दिएको परिवार नियोजनको साधन प्रयोग गर्न नजान्दा र जानेर पनि बेवास्ता गर्दा महिलाहरु गर्भपतनको जोखिम लिइरहेका छन् ।
हाल जिल्ला अस्पताल पाँचथरमा दुई तरिकाबाट गर्भपतन गर्ने गरेको पाइन्छ । शल्यक्रियाबाट र औषधि सेवनबाट गर्भपतन गराउने सेवा अस्पतालले दिइरहेको छ । चिकित्सकका अनुसार शल्यक्रिया भन्दा औषधिबाट गरिने गर्भपतन तुलनात्मक रुपमा कम जोखिमपूर्ण हुन्छ । हाल जिल्ला अस्पतालमा औषधिबाट नै धेरै महिलाहरुको गर्भपतन गराइने गरिएको छ ।
जोशीका अनुसार गर्भपतनपछि महिलामा ४–५ दिनसम्म रक्तस्राव भइरहनु, अत्याधिक रक्तस्राव हुनु, रगतको ढिक्का–ढिक्का बनेर रक्तस्राव हुनु, तल्लो पेटमा अत्याधिक पीडा हुनु, कमजोरी महसुस हुनु, भोक नलाग्नु, योनीबाट दुर्गन्धित पानी बग्नु, पिसाब वा दिसामा रगत आउने आदि समस्या हुन्छ । अझ असुरक्षित ढंगले गराइने गर्भपतनबाट यस्ता थुप्रै जोखिम आउने गरेका छ्न् । हाल नेपालमा सरकारले जारी गरेका आवश्यक प्रक्रिया पूरा गरेपछि सुरक्षित गर्भपतन गराउन पाइने कानुनी छुट छ । महिलालाई जोखिममा पारेर जथाभावी वा जुनसुकै अवधिको पनि गर्भपतन गराउनु भने अपराध मानिन्छ ।
गर्भपतन गराएपछि सामान्य अवस्थामा आउन एक देखि छ हप्तासम्म लाग्छ । गर्भपतन मान्यता प्राप्त स्वास्थ्य संस्थामा अनुभवी चिकित्सकबाट गराउँदा सुरक्षित हुन्छ । यस ५ प्रतिशत महिलामा गम्भीर समस्या देखिन सक्छन् । गर्भपतनपछि महिलाहरूमा महिनावारी अनियमित हुन सक्छ । शारीरिकसम्बन्ध बनाउँदा पीडा हुन सक्छ । तीन हप्ताभन्दा बढी रक्तस्राब हुन्छ । गर्भपतन पछि यस्ता केहि समस्या आफै बिस्तारै परिवर्तन हुन्छ्न् भने कसैलाई दीर्घकालीन असर समेत हुने जोशीको भनाइ छ ।
गर्भपतन पछि पुन जन्मिएका केहि बच्चामा समेत केही असर देखा पर्ने गरेका छ्न् । गर्भ रहेको केहि हप्तामै गर्भपतन गराए जोखिम कम हुन्छ । गर्भपतनको दुई सप्ताहपछि स्वास्थ्य परीक्षण गराउनु पर्ने हुन्छ । गर्भाशयको अबस्था र असर र संक्रमण भएको छ छैन जानकारी लिन यो निरीक्षण गर्ने जरुरी रहेको नर्स जोशीको भनाइ छ । हाल महिलाहरुले परिवार नियोजनको साधन प्रयोग नगरि गर्भपतनलाई नै एउटा विकल्प मानेर स्वास्थ्यप्रति बेवास्ता गर्ने प्रवृत्तिप्रति चिन्ता गर्दै नर्स जोशी भन्छिन् ‘गर्भपतनलाई परिवार नियोजनको साधन नमानिदिनुहोस् ।’