अनन्तराज न्यौपाने
के प्रधानमन्त्री शेरबहादुर देउवाबाट सुशासन अनि स्वच्छ र नैतिकवान् कार्यसम्पादनको आशा गर्नु बालुवाबाट तेल निकाल्नुजस्तै हो त ? के उनमा अझ पनि सुधारका सम्भावनाहरू छैनन् त ? कि उनी त्यस्तै गिरोहले घेरिएका छन् त्यसैले निष्ठा र आस्थाको धरातलमा उभिएर उनी काम गर्न सक्तैनन् भन्ने साँच्चै हो त ? प्रधानमन्त्री देउवाले पछिल्लो पटक स्वास्थ्य राज्यमन्त्रीमा शिक्षा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि यस्तै प्रश्नहरू मथिङ्गलमा घुम्न थालेका छन् ।
संस्कृतमा एउटा उखान छ– ‘प्रथम ग्रासे मक्षिकापातः ।’ यसको अर्थ हुन्छ पहिलो गाँसमै झिँगा प¥यो । वास्तवमा उमेशको नियुक्ति प्रथम ग्रासे मक्षिकापातः भएको छ । देखिने गरी देउवाले गरेको पहिलो काम नै अतीव अलोकप्रिय भएको छ । हुनसक्छ, उमेशले राज्यमन्त्रीका हैसियतमा काम गर्दा गलत गर्ने छैनन् । किनकि उनलाई अब धनी हुन अन्य राजनीतिकर्मीझैँ राज्यको दोहन गरिरहनु पर्दैन । उनी आफैँ सेठ होइन, नेपालका महासेठ हुन् । त्यसैले मन्त्री भएर, भ्रष्टाचार गरेर कमाउने लालसा नभएका व्यक्ति पनि उमेश ठहरिन सक्लान् । अनि प्रधानमन्त्री देउवाले पनि त्यस्तै इमानी मानिसको खोजी गरेर राज्य मन्त्रीमा नियुक्त गरेको पुष्टि हुनसक्ला । तर अन्तर्यजस्तो भए पनि त्यसको वाह्य पक्ष पनि समाजले पचाउन सक्नुपर्छ । आवरण पनि राम्रो हुनुपर्छ । पत्रकारितामा भनाइ छ, पत्रकार निष्पक्ष भएर मात्र पुग्दैन, त्यो देखिनु पनि पर्छ । उमेश श्रेष्ठको नियुक्ति असल आशयले नै गरिएको पनि हुनसक्छ तर आवरणमा यस्तो देखिएन । यस घटनाले नेपाली जनतालाई दुःखित बनाएको छ ।
ओली सत्ताच्युत भएर बालुवाटारबाट बालकोट सरेका दिन र देउवाले प्रधानमन्त्रीमा शपथ लिएका दिन नेपाली जनता औधी खुशी देखिएका थिए । यस्तै खुशी २०४६ चैत २७ गते र २०६३ वैशाख १२ गते छाएको थियो । ओली एक तानाशाहका शैलीमा सत्तासयर गरिरहेका थिए । सिङ्गो नेपाली समाज त्यसबाट उन्मुक्ति चाहन्थ्यो र जनचाहना सफल भयो पनि । यसका निमित्त नायक चाहिँ शेरबहादुर देउवा बने जो प्रधानमन्त्री भएका छन् ।
नेपाली जनताले देउवाबाट धेरै आशा गरेका छैनन् । उनले देखिने गरी भ्रष्टाचारमुक्त शासन दिन सके भने त्यो नै पर्याप्त हुन्छ । किनभने ओलीले आफ्ना पालामा गरेको राज्यकोषको बर्बादी, भ्रष्टाचार र अनियमितता इतिहासकै उच्च विन्दुमा पुगेको छ । त्यसैले शेरबहादुरले भ्रष्टाचारमुक्त शासन चलाइदिऊन् भन्ने कामना नेपाली जनताले गरेका हुन् ।
तर के महासेठ उमेश श्रेष्ठको नियुक्ति भ्रष्टाचारमुक्त शासनको शृङ्खलाको एउटा कडी बन्न सक्ला ? आजको यक्ष प्रश्न यही हो ।
त्यसोत, उनी गलत धन्दा गरेर रातारात धनाढ्यको सूचीमा चढेका व्यक्ति होइनन् । शिक्षा व्यवसायमा उनले लामो समय भोटो फटाए । बिस्तारै होटल, अस्पताल, हाइड्रो आदिका मालिक भइरहेका छन् । नेपालमा धन भएपछि जे पनि पाइन्छ भन्ने सिद्ध भएको छ । एमालेका मोतीलाल दुगड वा काङ्ग्रेसका विनोद चौधरी र उमेश श्रेष्ठ यसका दृष्टान्त हुन् । चार वर्षअघि निर्वाचनका बेला उमेश र देउवापत्नी आरजूका बिच बैठक भएको समाचार सञ्चारमाध्यमहरूमा निरन्तर आइरहे । देउवापत्नी आरजूको नाम कमिसन र नजरानामा बारम्बार जोडिने गर्छ । महासेठ उमेश श्रेष्ठ नेपाली काङ्ग्रेसका तर्फबाट समानुपातिक सांसद् निःशुल्क भए होला भनेर कुनै बोल्न–सुन्नै नजान्नेले पनि भन्दैन, मान्दैन । त्यहाँ पैसाको खेल अवश्य भएको छ ।
पञ्चायत कालमा बीपी कोइरालाले भनेको एउटा उक्ति नेपाली राजनीतिका सन्दर्भमा बारम्बार दोहोरिने गर्छ । त्यो भनाइ हो– ‘प्रजातन्त्र आएपछि पार्टीमा सुकिला–मुकिला, चिल्ला–चाप्ला, गाडीवाल र धनीमानीको बोलबाला हुनेछ । त्यो बेला पार्टीभित्रको प्रजातन्त्रका लागि स्वाभिमानी कार्यकर्ताले फेरि सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।’
उमेश श्रेष्ठको नियुक्ति बीपीको भविष्यवाणी सार्थक भएको एउटा उदाहरण मात्र हो । यस्ता उदाहरण काङ्ग्रेस पार्टीमा मात्र नभई वामपन्थी दलमा पनि अथाह छन् ।
मूलतः उमेश श्रेष्ठ व्यापारी हुन् । उनी राजनीतिकर्मी होइनन् । स्वाभिमानी राजनीतिकर्मीले पञ्चायतकालमा आफ्नो धान खाने खेत, अलिकति घडेरी, भकारीमा राखेको धान र घरमा पालेका गाई–भैँसी, परेवा र कुखुरा बेचेर पनि सङ्घर्षको राजनीति गरे । तर २०४७ मा प्रजातन्त्रको पुनःस्थापना भएपछि त्यसको हिसाब र ब्याज खोजेनन् । यस्ता त्यागी र स्वाभिमानी कार्यकर्ताका सूचीमा उमेश श्रेष्ठको नाम अवश्य पनि पर्दैन । त्यसैले उनले आफूले सांसद र राज्यमन्त्री बन्न जेजति खर्च गरेका छन् त्यो उठाइछाड्नेछन् । किनकि उनी मूलतः राजनीतिकर्मी होइन नाफा–घाटाको हिसाब गर्ने व्यापारी हुन् । घाटाको लगानी सायद उनका शब्दकोशमा छैन ।
नेपाली काङ्ग्रेसमा त्यागतपस्या गरेका, दुःख पाएका, जेलनेल बसेका र सधैँ सत्यनिष्ठाका पक्षमा लाग्ने कार्यकर्ताको अभाव थिएन र अहिले पनि छैन । देउवाले पहिलो निर्णयका रूपमा स्वास्थ्य राज्यमन्त्रीका लागि त्यस्तै इमानदार व्यक्तिको चयन गरिदिएको भए उनको लोकप्रियताको ग्राफ उचाइमा पुग्ने थियो । तर निवर्तमान प्रधानमन्त्री ओली बसेको कुर्सीमा आसीन हुनेबित्तिकै देउवालाई ओलीकै ह्याङओभरले सताएजस्तो छ । उनले ओलीकै जस्तो अलोकप्रिय र कमाउ निर्णय गरे ।