विराटगनर । विराटनगर महानगरपालिकाका १८ वटा वडाहरुले मंगलबारदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएका छन् । हरेक वडाहरुले ५५ वर्ष माथिका वडाबासीहरुलाई मंगलबारदेखि तीन दिनसम्म भेरोसेल खोप लगाउने गरी तयारी गरेको विराटनगर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिएका छन् ।
विराटनगर महानगरपालिकामा सोमबार भएको छलफल पछि सबै वडाहरुमा खोप अभियान सञ्चालन गर्ने निर्णय भएको हो । सोही निर्णय अनुसार वडा नम्बर ३ बाहेकका वार्डहरुले मंगलबारबाट खोप लगाउन थाल्ने छन् । वार्ड नम्बर ३ ले भने बुधबारबाट मात्र खोप लगाउने जनाएको छ । भीड व्यवस्थापनको तयारी गर्नु पर्नेभएकोले बुधबारदेखि मात्र खोप लगाउने जनाएको छ ।
नगरका वडाबासीहरु खोपको तिब्र प्रतीक्षामा रहेका कारण ५५ वर्ष भन्दा माथिका नागरिकलाई मात्र यो तीन दिन खोप लगाइने बताइएको छ । फ्रन्टलाइनर, वैदेशिक रोजगारी, कर्मचारी, यातायात मजदुर आदि प्राथमिकताप्राप्त समूहलाई भने वडाहरुले खोप दिने छैनन् । त्यसका लागि विराटनगर महानगरपालिकाले सञ्चालन गरेको वीरेन्द्र सभागृह र कोशी अस्पतालको केन्द्रबाट खोप सेवा लिनु पर्ने छ ।
वैदेशिक रोजगारीमा जानु पर्ने व्यक्तिहरुले भने जिल्ला प्रशासन कार्यालयको सिफारिसमा जुनसुकै बेला जिल्ला स्वास्थ्य कार्यालयबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन सक्ने गरी व्यवस्था मिलाइएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।