बाँदरको साथमा ‘बा’ को घरफिर्ती !

 लीलावल्लभ घिमिरे

बालकोटबाट ‘बा’ बालुवाटार जादाँ सबैका मुहार हँसिलाखुसिला थिए । सबैले सोचेका थिए, पाँच बर्षपछि ‘बा’ घर फर्कदा दुहुना गाई लिएर फर्कनु हुनेछ । तर, परिणाम उल्टो भो ‘बा’ पाँच वर्षमा हैन ३ वर्षमै घर फर्कनु भयो । दुहुना गाई हैन एक हुल बाँदर पो लिएर बालकोट आउनु भयो ।

हुन त ‘बा’ले बालकोटबाट बालुवाटरमा गएर जे गर्नुभयो, जस्तो सिक्नुभयो त्यस्तै लिएर फर्कनु भा’को हो । बालाई बालुवाटारको अमत्याईँ लाग्यो । पाँच वर्षका लागि जानुभएका ‘बा’ तीनै वर्षमा बालकोट फर्कनुमा अरु कसैको दोष छैन । दोष त बा कै छ । नेपालीमा एउटा उखान छ, ‘के गर्छस् मंगले आफ्नै ढंगले’ भने जस्तै ‘बा’ले बालुवाटरलाई बुझ्न सक्नु भएन । त्यहाँ पुगेपछि ‘बा’लाई लाग्यो, यो दुनियाँको राजनीतिक खेलाडी म मात्र हुँ अरु सबै मूर्खहरु हुन् । म जे गर्छु उत्तम गर्छु । मैले जे गरें सबैले त्यसमा ताली बजाउनु पर्छ । यस्तै यस्तै अतिवादले ‘बा’ ग्रस्त हुनुभयो । परिणाममा दुई वर्ष बाँकीछँदै बालकोट सर्नु प¥यो ।

लामो समयपछि देशमा स्थिर सरकार बनेको थियो । जनताले धेरै आशा गरेका थिए । अब देशमा विकास हुन्छ । जनताले समृद्ध नेपाल देख्न पाउँछन् । बालकोटबाट बालुवाटार पुगेपछि ‘बा’ले पनि अचाक्ली नै सपना देख्न थाल्नुभयो । रातभर बालुवाटारमा ‘बा’ सपना देख्नु हुन्छ उज्यालो भएपछि मान्छे भेलापारेर तिनै सपना सुनाउनु हुन्थ्यो । ‘बा’ले बालुबाटारमा रेलका सपना देख्नुभयो देशमा नै तेलका मुहान देख्नुभयो । सबै नेपालीका घरघरमा ग्यासका पाईप पुगेको सपना देख्नुभयो । सबै नेपाली हाँसिरहेको देख्नुभयो । सबैका पेट भरिएको देख्नुभयो । ‘बा’का सपनाले बालुवाटारमा धेरै सपना देख्नुभयो । तर, सपना सकार पार्ने नाउँमा बिहानै उठेर एकहुल मान्छेलाई सुनाउने भन्दा सिन्कोसमेत भाँच्नुभएन ।

‘बा’ले वास्तवमा नै बालुवाटारमा बाँदरैको जस्तो काम गर्नुभयो । ‘बा’ले आफ्नो चारतले घर भत्काउनु भयो । त्यतिले मात्र पुगेन बालाई तराई तिरका घरसमेत भत्काउन लाग्नु भयो । दुईतीहाइ नजिक रहेको नेकपा बा कै कारण भङ्ग हुन पुग्यो । बाले एमाले बिउँत्याउनु भयो तर, घर झगडालाई अझ रडाकोमा परिणत गर्नुभयो । जनता समाजवादीमा फुटको बिजारोपण गर्नुभयो । बालाई यतिले मात्र चित्तबुझेन जनताले ५ वर्षका लागि बनाएको प्रतिनिधि सभालाई तीनै वर्षमा तुहाउनु भयो । पहिलो पटक अदालतले बचाएको प्रतिनिधि सभालाई दोस्रो पटकपनि हत्या गर्नु भएको थियो । ‘बा’ले बालुवाटारमा हुँदा जति काम गर्नु भो त्यतिनै काम प्रति अदालतले प्रश्न चिन्ह खडा गरिदियो । तरपनि ‘बा’आफुलाई रोक्न सक्नु भएन । ‘बा’ लाई लाग्यो यो देशको राजनीतिक खेलाडी म मात्र हुँ र मैले जे गर्दापनि हुन्छ । यो घमण्ड ‘बा’ लाई अदालतले बालुबाटारबाट बालकोट फर्काएका दिनसम्म थियो । जाने बोलेमा सरकारी सञ्चार मध्यामको दुरुपयोग गर्दै ‘बा’ले बिलौना गर्नुभयो । त्यतिले मात्र बाको मेख मरेन । त्यसपछि ‘कँही नभएको जात्रा हाँडी गाँउमा’ भने झंै बालुवाटारबाट ‘बा’ तामझामका साथ बालकोट फर्कनुभयो र बालकोटको बारदलीबाट कुर्लनसमेत भ्याउनुभयो ।

‘बा’लाई लाग्यो, यो देशको सत्ता म बिना चल्दैन । म मात्र निर्विकल्प यो देशको प्रधानमन्त्री हुँ । जुन धारा खोलेपनि केपी मात्र आउँछ भन्ने भ्रम बालाई थियो । जुनदिन शेरबहादुर देउवाले १६५ मत ल्याएर विश्वासको मत सदनमा प्रमाणित गरे, त्यो दिन मात्र बाको होस खुल्यो । लाग्यो म खेलाडी हैन अनाडि रहेछु भन्ने । ‘बा’का भक्तजनहरु बालाई राजनीतिका महान् खेलाडी, राजनेता देख्छन् । बिचराहरुलाई थाहा छैन्, ‘बा’ राजनीतिका खेलाडी हैनन् अनाडी हुन् भनेर ।

‘बा’को होस अझै खुलेन भने, जसरी आफु बसेको पद ‘बा’ले आफ्नै अहंकारले गुमाउनुभयो । नेकपा गुमाउनु भयो । दुईतीहाइ गुमाउनुभयो । अब माधवकुमार नेपाललाई एमालेमा राख्न सक्नु भएन भने ‘बा’ले एमालेपनि गुमाउदै हुनुहुन्छ । हुन त ‘भीरबाट लड्ने गाईलाई राम–राम भन्न सकिन्छ, काँध हाल्न सकिदैन’ भने जस्तै हामीले राम–राम मात्र भन्ने हो । आगे ‘बा’को मर्जी ।

आइतबार, १० साउन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर