विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला नेतृत्वको टोलीले भारतीय सीमा क्षेत्रका प्रहरी चौकीको अनुगमन गरेको छ । आइतबार गरिएको अनुगमनका क्रममा सो क्षेत्रका प्रहरी कार्यालयहरु भद्रगोल अवस्थामा रहेको भेटिएको थियो ।
भद्रागोल अवस्थामा रहेका प्रहरी कार्यालयहरुको सुधारका लागि आफूले गृह मन्त्रालयसमक्ष पहल गर्ने प्रजिअ निरौलाले बताए । ‘अनुगमनको नियमित तालिका अनुसार सीमा क्षेत्र गएका हौं,’ निरौलाले भने, ‘सीमा क्षेत्रका प्रहरी कार्यालयहरु समस्याग्रस्त देखिएको छ, सुधारका लागि माथिल्लो निकायमा पहल हुन्छ ।’
निरौलाले रतुवामाई–५ मा रतुवाखोलामा आएको बाढीले केही दिन अगाडि वस्ती डुबानमा परेको क्षेत्र पनि अनुगमन गरेका छन् । उक्त क्षेत्रमा नगरपालिकाले आफ्नो ठाउँबाट पहल गरिरहेको र आफूले पनि आवश्यक सहयोग गर्ने उनले बताए ।
यस्तै विराटनगरको सीमावर्ती क्षेत्रमा कल्भट बनाउन भारतीय पक्षले अवरोध गरेको विषयमा पनि प्रमुख जिल्ला अधिकारी निरौलाले अनुगमन गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १७ इस्लामपुरमा कल्भट निर्माण गर्न भारतीय पक्षले अवरोध गरेको स्थानीयको गुनासो थियो ।
प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार भारतीय पक्षले नाला निर्माणमा अवरोध गरेको नभई नालाबाट दशगजा क्षेत्रमा पानी नझरोस् भन्ने उद्देश्यले गुनासो गरेको देखिएको बताए । ‘नाला बन्दैछ, पानी निकासको कुरामा भारतीय पक्षले अवरोध गरेको पाइयो, नाला बनाउने कुरामा अवरोध होइन,’ निरौलाले भने, ‘त्यस नालाबाट दशगजा क्षेत्रमा पानी कटाउन चाहिं अवरोध गरेको देखियो, सहमतिको प्रयास भइरहेको छ ।’
विराटनगर १७ का वडा अध्यक्ष समिर कमरले भने इस्लामपुरमा दशगजा नजिकै रहेको सडकमा कल्भट बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको बताए । एसएसपीले अवरोध गरेपछि काम रोकिएको उनको भनाइ छ ।
‘दशगजासँग जोडेर उनीहरुले तीनवटा कल्भट बनाएका छन्, फोहोर पनि दशगजामै फाल्छन्,’ उनले भने,‘ हामीले कल्भट बनाउँदा दिएनन्, मैले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको छु ।’ दशगजाबाट नेपाल तर्फ नै निकास नालाको पानी कटाउन कल्भर्ट बनाउन सुरु गर्दा अवरोध भएको उनले बताए । उनका अनुसार दशजगजा नजिकै रहेको सडक ग्राभेल, नाला निर्माण र कल्भट बनाउन १६ लाख बजेट विनियोजन भएको थियो ।