विराटनगर । सम्झौता गरेकोभन्दा तीन महिना ढिलो गरि विराटनगरस्थित कोशी अस्तपालमा अक्सिजन प्लान्ट जडान भएको छ ।
अक्सिजन प्लान्ट जडानको ठेक्का पाएको काठमाडौंस्थित डाइनोक्यामले तीन महिना ढिलो गरि आइतबार अक्सिजन प्लान्ट जडान गरेको हो । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसरभित्र अक्सिजन प्लान्ट निर्माण भएको हो ।
जडान गरिएको प्लान्टदेखि एक साता भित्रमा अक्सिजन उत्पादन हुने निर्माण कम्पनी डाइनोक्यामका एमडी विज्ञान अर्यालयले जानकारी दिए । अक्सिजन उत्पादन गर्ने उपकरण ढिलो गरि आएकोले कोशीमा अक्सिजन प्लान्ट जडान गर्न ढिलो भएको उनले बताए । ‘अक्सिजन उत्पादन गर्ने उपकरण स्वलोभाकिया भन्ने देशबाट आउन नै समय लाग्यो । भारतको कलकत्ता आइपुगेपनि केही समय लाग्यो,’ उनले भने, ‘शुक्रबार कोशी अस्पतालमा उपकरणहरू सबै आयो । आइतबारसम्म परीक्षण पुरा गरि एक साताभित्र उत्पादन सुरू हुनेछ ।’
मंसिरमा सम्झौता भई वैशाख २५ गतेभित्र कोशी अस्पतालमा अक्सिजन जडान गर्ने समझदारी भएको थियो । तर, सम्झौता अवधि सकिएर तीन महिना ढिलो गरि अक्सिजन प्लान्ट जडान भएको हो । हाल जडान भएको अक्सिजन प्लान्टदेखि दैनिक ९० देखि १ सय १० सिलिण्डर अक्सिजन उत्पादन गर्ने बताइएको छ ।
अहिले कोशीमा दैनिक १ सय ५० अक्सिजन सिलिण्डरको माग रहेको अस्पतालका सुपरिटेन्डेन्ड (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । ‘तीव्र रूपमा दोस्रो लहरको कोरोना संक्रमण फैलिँदा दैनिक ३ सय ५० सिलिण्डरको माग थियो । अहिले संक्रमण दर घट्दै जाँदा अक्सिजन सिलिण्डरको माग पनि घट्दै गएको छ,’ मेसु दासले भने, ‘कोशीको अक्सिजन प्लान्टदेखि अक्सिजन उत्पादन भएपछि अस्पताललाई राहत हुनेछ ।’
अबको एक सातापछि कोशी अस्पतालले आफ्नै प्लान्टदेखि उत्पादन भएको अक्सिजन अस्पतालमा खपत गर्ने मेसु दासले जानकारी दिए । ‘अक्सिजन प्लान्टमा उपकरणहरू जडान भइसकेको छ । अब परीक्षण गर्न बाँकी छ । सम्भवतः आउँदो शुक्रबारदेखि नियमित रूपमा अक्सिजन उत्पादन हुनेछ ।’ कोशीको प्लान्टदेखि अक्सिजन उत्पादन भएपछि सिलिण्डर बोकेर निजी उद्योगमा जानुपर्ने समस्या पनि अन्त्य हुने उनले बताए । अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरि अक्सिजन खरिद गर्दै आएको छ ।