विराटनगर । सामान्यताः सिटी स्क्यानको रिपोर्ट ३ देखि ४ घण्टामा आउने गर्दछ । ढिलोमा पनि परीक्षण गरेको एक दिनपछि रिपोर्ट आउनुपर्ने हो । तर, विराटनगरस्थित कोशी अस्पतालमा एक साता हुन लाग्दा पनि विरामीको सिटी स्क्यानको रिपोर्ट आउन नसक्दा बिरामीले सास्ती व्यहोर्नु परेको छ ।
कोशी अस्पतालमा कार्यरत रेडियोलोजिष्ट नहुँदा ल्यावको रिपोर्ट दिन ढिलाइ भएको हो । विराटनगर ६ का ७० वर्षीय असरफि कामतले कोशी अस्पतालमा सिटी स्क्यानको लागि परीक्षण गरेको पाँच दिन भइसक्दा पनि शनिबार साँझसम्म रिपोर्ट नआएको बताए । ‘घाँटीमा समस्या भाएपछि उनले गोल्डेन अस्पतालमा चेकजाँच गरेको थिए । चिकित्सकले घाँटीमा गम्भीर समस्या देखिएका कारण सिटी स्क्यान गराउनु पर्ने सल्लाहा दिनुभयो,’ उनले भने, ‘केही पैसा सस्तो हुने भएकोले गोल्डेनदेखि करिब ५० मिटर उत्तरमा रहेको सरकारी अस्पताल कोशीमा पुगें । ४ हजार रुपैयाँ दिएर कोशी अस्पतालमा सिटी स्क्यान गराएको थिए । शुक्रबार पाँच दिन भयो । अहिलेसम्म रिपोर्ट आएको छैन । अस्पतालको ल्याबमा जानकारी लिँदा चिकित्सक नभएकोले रिपोर्ट नआएको बताउँछन् ।’
सिटी स्क्यान गरेको २४ घन्टाभित्र रिपोर्ट आउने ल्याबका कर्मचारीले विरामीका आफन्तलाई जानकारी गराए पनि अहिलेसम्म रिपोर्ट नआएको विरामी असरफी कामतका नाती सन्तोष कामतले जानकारी दिए । ‘सिटी स्क्यान गरेको भोली पल्टदेखि रिपोर्ट आयो कि भन्दै लिन जान्छु । रिपोर्ट आएको छैन भन्दै कर्मचारीले फर्काउने गरेका छन् । शुक्रबार पाँच दिन पुरा भयो । अहिलेसम्म रिपोर्ट हात लागेको छैन ।’ रिपोर्ट नआउँदा विरामीलाई थप समस्या भएको आफन्त बताउँछन् । ‘सिटी स्क्यानको रिपोर्ट आएको भए । चिकित्सकलाई पनि थाहा हुने थियो । के भएर घाँटी दुखेको रहेछ । अहिलेसम्म रिपोर्ट नआउँदा थप उपचार हुन सकेको छैन,’ विरामीका नाती सन्तोषले भने, ‘सरकारी अस्पतालको ताल यस्तो छ । अनि कहाँबाट हामी जस्तोले भनेको बेलामा चाँडो सेवा पाउँछौं ।’
सिटी स्क्यानको रिपोर्ट दिने विभागीय प्रमुख रेडियोलोजिष्ट राजाबावु सुवाल हुन् । सुवालका आफन्तलाई कोरोना संक्रमण भएकोले चार दिनदेखि विदामा छन् । आफू विदामा बसेको र केही प्राविधिक कारणले रिपोर्ट दिन ढिलो भएको उनले बताए ।
कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दास रेडियोलोजिष्ट विभागका चिकित्सकका आफन्त विरामी भएको कारणले रिपोर्टमा समस्या आएको बताए । ‘प्राविधिक कारणले विरामीलाई रिपोर्ट दिन ढिलो भएको जनगुनासो आएको छ,’ उनले भने, ‘यस समस्याको चाँडै समाधान हुनेछ ।’
सिटी स्क्यान गर्ने विभागमा वैकल्पिक रुपमा रेडियोलोजिष्ट नहँुदा विरामीलाई रिपोर्ट दिन समस्या हुने गरेको छ । भएको एक जना रिडियोलोजिष्ट विदामा बस्नुप¥यो भने विरामीलाई रिपोर्ट दिन समस्या हुने गरेको छ । दैनिक ओपीडिमा १ हजारभन्दा बढी विरामीले सेवा प्रदान गर्ने अस्पतालमा वैकल्पिक रेडियोलोजिष्ट राख्नुपर्ने विरामीका आफन्तले माग गरेका छन् ।