कम उमेरमा गर्भ रहे क्यान्सरको जोखिम

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ दुर्दिम्बा एक किशोरीले १६ वर्षमा विवाह गरिन् । उनी भर्खरै ११ पढ्नका लागि सदरमुकाम आएका बखत फागुनन्द गाउँपालिका चिलिङ्दिनका युवकसँग भागी विवाह गरेकी थिइन् ।

उनीहरुको विवाह भएको एक वर्ष नपुग्दै युवती गर्भवती भइन् । उनले १७ वर्षको उमेरमै बच्चा जन्माइन् । बच्चाको जन्म अस्पतालमै भएको थियो । उनलाई सुत्केरी अवस्थामामा अत्याधिक रक्तस्राव भएको थियो । डाक्टरले ‘परिपक्क उमेर नभई बच्चा जन्मिएका कारण यो अवस्था आएको हो तपाईलाई आरामको जरुरी छ’, भन्ने सुझाव दिएका थिए । तर श्रीमान वैदेशिक रोजगारीका लागि गएका कारण घरको सबै जिम्मेवारी उनैमा रहयो ।

पछि उनलाई तल्लो पेट दुख्ने पोल्ने तथा दिशा पिसा नै गर्ने गाह्रोस्थित आउन थाल्यो । पाठेघरमा निरन्तर समस्या आएपछि उनी अन्ततः अस्पताल गइन् । उनलाई अस्पतालका डाक्टरले पाठेघरमा प्रथम चरणको क्यान्सर देखा परेको कुरा सुनाए । डाक्टरले तत्काललै उपचारको प्रक्रिया सुरु गरे तर उनको पाठेघरमा अझ सङ्क्रमण बढेपछि उनको अवस्थामा झनै गम्भीर देखिन थाल्यो । उनी अहिले २१ वर्षकी छिन् ।

हाल उनलाई डाक्टरले अर्को बच्चा नजन्माउन सुझाव दिएका छ्न् । अहिले औषधि सेवन गरिरहेकी छिन् । उनी भन्छिन, ‘अरुको कुरा सुनेर छिटो बिहे गरियो परिवार नियोजनका साधनबारे राम्रो ज्ञान नै थिएन । बच्चा पनि कम समयमै जन्मियो । सोही बेला काम पनि ज्यादा भएछ रोग लागेको पत्तै भएन एक्कै चोटी थला पारिसकेछ । मेरो जस्तो पीडा अरूलाई भएको सुन्नु नपरे हुन्थ्यो ।’

पाँचथर अस्पतालकी नर्स लक्ष्मी जोशीका अनुसार महिलालाई परिवार नियोजनका अस्थायी साधनको जानकार भएर पनि अस्पतालसम्म गएर लिन लाज मान्ने, केही गरि ल्याइहाले पनि प्रयोग विधिको ज्ञान नहुने समस्याका कारण धेरै महिलामा यो अवस्था देखिएको छ । महिलाको बच्चा जन्माउने क्षमता विकास नभइसक्दा नै बच्चा जन्मिएपछि बच्चा हेरचार गर्ने सामान्य ज्ञानसमेत नहुने, जन्मिएको बच्चामा समेत धेरै प्रकारका असर देखा परेको पाइन्छ ।

कम तौलको बच्चा जन्मने बच्चा कुपोषित हुने समस्या छ । महिलाहरुमा आङ खस्ने, पाठेघरमा क्यान्सर, स्तन क्यान्सर, अत्याधिक रक्तस्राव, अनियमित महिनावारी हुने सम्भावना प्रवल रहेको सुनाउँछिन् उनी ।

ग्रामीण क्षेत्रका महिला तथा पुरुष सूचना तथा संचारको विकासले गर्भनिरोधक साधनबारे राम्रो जानकारी भए पनि २१ प्रतिशत महिला पुरुषले रोजेको परिवार नियोजनको साधन चाहेका बेला पाउन नसकेका कारण पछिल्लो समय पनि देशभर यस्तो समस्या देखिएको डाक्टर उमेश मेहेता बताउँछ्न् ।

उनका अनुसार दम्पतीले परिवार नियोजनको साधन प्रयोग गर्न चाहेको समयमा स्वास्थ्य संस्थामा उनीहरूले रोजेको साधन उपलब्ध नहुनाले पछिल्लो समय पनि यस्तो समस्या देखिएको हो ।

नर्स जोशी भन्छिन्, ‘महिलाहरूले कम उमेरमै बच्चा जन्माएका कारण भविश्यमा कुनै कुनै मनोसामाजिक असर उत्पन्न हुने गरेको देखिन्छ,’ उनी थप्छिन्, ‘२० वर्षभन्दा कम उमेरमा महिलाको प्रजनन अंगको विकास हुँदै गर्दाको अवस्था भएकाले त्यो समयमा गर्भ रहेका ८० प्रतिशत महिलामा कुनै न कुनै सङ्क्रमण हुने गरेको छ ।’

शुक्रबार, ०१ साउन, २०७८, दिउँसोको ०२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर