शिव श्रेष्ठ
यस घडिको लागि प्रतिगमन सच्चिएको छ भन्दा पनि सच्याईएको छ भन्ने मेरो बुझाइ छ । देशको अमूल्य समय र अग्रगमनको बहाबलाई राजनीतिक रुपमा लड्काईएको दुष्चक्रधारी भुमरीले संसद भङ्ग भएको थियो । त्यसपछि देखिएको सडकको आलाप–विलाप र यसको पुनःस्थापनाजस्ता विषयले सेकेन्ड सेकेन्डमा हुन सक्ने सम्भावित प्रगतिशिल यात्रामा गत्यावरोध पैदा भएको सबैलाई जगजाहेर नै छ ।
खड्केको विषय के हो भने हामी यही राजनीतिक परिवर्तनको नाममा वृहत विषयलाई ओेझेलमा कति दिन लड्काएर राख्ने ? जस्तो कि आर्थिक, सामाजिक, स्वास्थ्य, विज्ञान, प्रविधि, खोज अनुसन्धान, उत्पादन तथा रोजगार आदि । समसामयिक सन्दर्भमा जसरी एउटा कम्पनीका शेयरधनीहरूको प्रतिनिधि समूह जसलाई कम्पनीको व्यवस्थापन समिति भनिन्छ ।
सँगसँगै समग्र प्रत्यक्ष व्यवस्थापनार्थ एक व्यक्ति पनि नियुक्ति गरिन्छ जसले त्यही व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्ने साथै उनका सिर्जनशिल सोचहरुलाई नीतिगतरूपले कार्यान्वयनमा लाने गर्दछ । उसलाई चलन चल्तीको भाषामा कार्यकारी प्रमुख (Chief Executive Office, CEO) भनिन्छ । समग्रमा उनी त्यही समिति र समिति सरोकारवाला पक्ष अर्थात् शेयरधनीप्रति पूर्ण बफादार रहनु पर्ने हुन्छ । त्यसरी नै देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) जो त्यहि सदन (जस्तैः व्यवस्थापन समिति) र जनता (जस्तैः शेयरधनी) प्रति पूर्ण इमान्दार तथा बफादार रहनु पर्ने विषय सापेक्षिकरूपमा केही सिमा तथा मान्यतालाई सीमिति राख्दा हामी सामान्य बुज्रुकले बुझ्ने कुरा यहि हो जस्तो लाग्छ ।
खर्चिलो र बिना गर्विलो इतिहास बोकेको संसदीय व्यवस्थाप्रति मेरो न कुनै दुर्भाब न अपेक्षा नै छ । यद्यपि अकल्पनीय संघर्षद्वारा, मानव तथा भौतिक क्षति व्यहोरेर देशले प्राप्त गरेकोे व्यवस्था मास्ने कसैलाई पनि छुट छ भन्ने लाग्दैन । तत्कालिन प्रधानमन्त्री ओलीको संसद विघटनको कदम प्रतिगामी कदम हो भने विघटित संसद पुनःस्थापना गर्ने सर्वोच्चको कदम प्रतिगामी कदमलाई रोक्ने अर्को आंशिक अग्रगमनको प्रयास हो । वास्तवमा यो दुवै कदम गलत छ । यो स्वार्थले बाझिएको ऐतिहासिक चरित्रहरुको मेला हो । दुई तिहाई नेकपाको नेतृत्वमा रहेको सरकारलाई लात हन्ने, संगठन पनि म, म नै संगठन भनेर सोच्ने उन्मादी चरित्रहरु प्रति भन्ने विषय अथाह छन् । तर, लेख्न कति लेख्ने लेखी साध्य नै नरहेको वास्तविकता हो । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं नेपालीहरुको अपेक्षा र वास्तविकताबीच निकै ठूलो खाडल रहेको हामी देख्न सक्छौं । यसका लागि दोषि चस्माको साथ क्षितिजबाट नियाल्न कुनै अर्को माईस्क्रोपको आवश्यकता पनि रहँदैन ।
प्रतिगमनको विरुद्धमा कदम चाल्ने क्रममा फलतः आंशिक अग्रगमनको आगत रहेता पनि भर्रखरै नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा अग्रगमनको धोतक भने हो वा होईनन् त्यो नेपाली राजनीतिक इतिहास जगजाहेर छ । देशमा प्रजातन्त्र आइसके पश्चात हरेक कालखण्डमा नेतृत्व गरेका उनीसँग कुनै चामत्कारिक नेतृत्वशैली रहेको छ भन्ने जनमानसमा सायदै होला । भनिन्छ, राजनीतिमा न नैतिकता न जमान नै हुन्छ यो त सम्भाव नै सम्भावनाको खेल हो । त्यहि सम्भावनाका खेलको पात्र शेरबहादुर देउवा बने । उनलाई प्रभावकारी सरकारको नेतृत्वसहित सफलताको हार्दिक बधाई दिन बाहेक हामीसँग अर्को विकल्प रहेन । खैर, जे होस् सच्याईएको प्रतिगमनको अग्रगामी छलाङ् मार्नुहोस् । जनताको समसामयिक र दीर्घकालिन अपेक्षाप्रति विगतका त्रुटीहरू नदोहोरिने गरी सुदृढ नेतृत्वको आभास जनताले गर्न पाउन ।