तस्करी नियन्त्रण गर्न यसो गरे कसो होला ?

 गणेश लम्साल

कोरोना महामारीका बेला ११ चैत २०७६ देखि नेपाल–भारत सीमा क्षेत्र दुबैतर्फ शील भयो । अझैसम्म सीमा शील नै छ । तर, बोर्डर शील भएपनि अबैध ओसारपसार र चोरी तस्करी पूर्ण नियन्त्रण हुन सकेको छैन । बरु कतै प्रहरीसँग तस्करका झडप भएका छन् भने कतै प्रहरीले आफूहरुको रोजगारी खोसेको भन्दै शीमा क्षेत्रमा ओसारपसार गर्नेहरुले रुवावासी पनि गरिरहेका छन् । प्रशासनले भारत गएर किनमेल गर्नेलाई क्वारेन्टाइनमा राख्ने उर्दी पनि गरेको छ । तरपनि खुल्ला सिमानाले गर्दा अबैध ओसारपसार नियन्त्रण हुन सकेको छैन ।

अर्कोतिर रातको समयमा चोरी तस्करी गर्नेहरुले लोभ र प्रलोभनको दाउपेच लगाएर लाइन धन्दा चलाइरहेका छन् । झापा, मोरङ र सुनसरीको सीमा क्षेत्रका बासिन्दा रातभरि तस्करीकै कारण राम्रोसँग निदाउन पनि पाएनका छैनन् । लाजमर्दो कुरा खुला सिमानाको बहाना बनाउँदै तस्करीको लाइन चलाएर अबैध फाइन कमाउने लोभमा प्रदेशको नेपाल र सशस्त्र प्रहरी दुबै सक्रिय भएको चाइनिज स्याउ काण्डले भेद खुलेको छ । लाज जोगाउनका लागि दुबैतर्फ चार—चार प्रहरी विभागीय कार्बाहीमा परेका छन् । तरपनि तस्करीलाई संरक्षण गर्न रक्षक नै भक्षक बनेर लागि परिरहेको प्रष्ट भएको छ ।

अझै पनि नियमनकारी निकाय र सत्ताको पहुँचमा रहेका व्यक्तिहरुले नै संरक्षण दिँदा अझै सीमा क्षेत्रमा हुने तस्करीलाई पेशा हो भन्दै अधिकार ठान्नेहरुको जमात छँदैछ । अझै पनि लोभीपापी भन्सार छली गर्नेहरुले तस्करी कार्यलाई अपराध हैन, गरिखाने पेशा मान्ने गरेका छन् । यसैले अझैपनि कडाई गरेमा गरिखाने अधिकार खोसेको भन्दै प्रहरीसँग गुनासो गर्ने, बिभिन्न आरोप लगाउने र नेताका शोर्स प्रयोग गराउनेदेखि धर्ना दिने र सडक जाम गर्नेसम्मका गतिबिधि गर्ने गराउने गरिरहन्छन् । यसरी तस्करीलाई पेशा ठान्नेहरुमा ठूला तस्कर, अगुवा, राजनीति दलका कार्यकर्ता मात्र नभएर भरियाका रुपमा प्रयोग हुने गरिब महिला, पुरुष, बालबालिका र अपाङ्गता भएकाहरुसमेत छन् ।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने ओसारपसारका मालबस्तु र भरियाहरुलाई पक्राउ गरेर मात्र सीमा क्षेत्रमा हुने तस्करी पुर्ण नियन्त्रण हुनसक्दैन । यसका लागि बिशेष जागरण अभियानको खाँचो छ । त्यसका लागि पहिलो प्रहरी, त्यसपछि जनप्रतिनिधि, दलका नेता र अगुवाहरु सबै लोभमुक्त हुन आवश्यक छ ।

खुल्ला सीमाना, रोजगारी र भोटको बहाना बनाएर कर्तब्य र जम्मेवारीबाट कोहि पनि पन्छिनु हुदैन । सीमा क्षेत्रका प्रहरी, जनप्रतिनिधि र राजनीतिक दल अनि अन्य सरोकारवालाहरुसँग साभेदारी गरेर बिभिन्न जनचेतनामुलक क्रियाकलाप आयोजना गरि अबैध ओसारपसार पेशा नभएर अपराध हो भनेर सबैलाई बुझाउन सकिन्छ । अटेर गर्नेहरुलाई रंगेहात पक्राउ गरेर वस्तुसहित भन्सारमा दाखिला गराउन आवश्यक छ । सीमाना नजिक र दशगजा क्षेत्रमा खोलिएका गोदाम, काँटा, व्यापारिक पसलहरु हटाउन सहयोग गर्नु पनि अतिआवश्यक छ ।

अर्कोतिर सीमा क्षेत्रका युनिटहरुले अबैध ओसारपसारमा संलग्न सबै तहका व्यक्ति र समूहको प्रोफाइल प्रहरीले सार्वजनिक गर्न आवश्यक छ । ताकि अपराधिक पृष्ठभूमि भएका र अबैध कमाई गर्नेहरुलाई नागरिहरुले जान्न चिन्न पाउने छन् । रोजगारीको बहानामा अपाङ्गता भएका व्यक्ति, बालबालिका अनि सिमान्तकृत समुदायका महिला, दलित र गरिबहरुलाई तस्करीमा भरिया बनाउने वर्षौदेखिको कार्यलाई निरुत्साहित गर्न आवश्यक छ । तस्करी पेशा हैन अपराध हो भनेर सबैलाई वुझाउन आवश्यक छ ।

पेशा त्यो हो, जुन कानूनको परिधिभित्र रहेर बैधानिक तरिकाले गरिन्छ । तर, अबैध ओसारपसार भन्सार छली हो । जुन कानून अनुसार जघन्य अपराध हो । यसैले अबैध ओसारपसार(तस्करी) रोजगार वा पेशा होइन । जवसम्म हामी सबैले हातेमालो गरेर तस्करी नियन्त्रण अभियान थाल्दैनांै, हामीले समाजलाई अपराधमुक्त बनाउन सक्दैनौं । यसैले आउनुहोस् तपाई हामी सबैले तस्करी पेशा हैन, अपराध हो भन्ने बुझाउन राष्ट्रिय अभिायान थालौं । किनभने अपराधले कसैको हित गर्दैन । बरु झन्झन् हानी नै पु¥याउँछ । यसमा प्रदेश सरकारले सुरु गरेको ‘म अघि बढछु’ कार्यक्रममा अबैध ओसारपसार विरुद्ध जनचेतनामुलक कार्यक्रमा समावेश गर्न लगाऔं । पालिकाहरुलाई जिम्मेवार बनाऔं ।

प्रदेश १ मा भर्खरै नेतृत्व लिएका नयाँ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले तस्करी नियन्त्रणमा चासो दिने प्रतिबद्धता जनाएका छन् । यसैले मेरो सुझाव छ— ‘डिआइजी साहेब ! पैसा चढाएर भगवान् खुसी बनाउँदै अपराधमा संलग्न हुने हाम्रो समाजले अझै भ्रष्टचारलाई अपराध हो भन्ने बुझेको छैन वा बुझेर पनि बुझ पचाइरहेको छ । यसैले साँच्चै तस्करी नियन्त्रण गर्ने हो भने पक्राउ गरेर मालवस्तु दाखिला गराएर तथ्याङ्क देखाउने मात्र हैन । तस्करी त्यो अपराध हो जसले व्यक्ति, समाज मात्र नभएर सिंगो राष्ट्रको सदाचारी चरित्रलाई कदाचारी बनाइरहेको छ भनेर आम नागरिकलाई बुझाउन आवश्यक छ । संयुक्त निगरानी समूह बनाएर तस्करी नियन्त्रण अभियान चलाउन आवश्यक छ ।

सोमबार, २८ असार, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर