कोरोना संक्रमितको उपचारमा निजीभन्दा सरकारी अस्पताल नै भरपर्दो

विराटनगर । कोरोना संक्रमित बिरामीहरुको उपचारमा निजीभन्दा सरकारी कोभिड अस्पताल नै भरपर्दो साबित भएका छन् ।

मोरङमा कोरोना संक्रमित बिरामीहरुको उपचार हुने ४ ठुला कोभिड अस्पतालमध्ये अधिकांश संक्रमित बिरामीहरुको रोजाई सरकारी अस्पताल नै देखिएको छ । निःशूल्क उपचार, गुणस्तरीय सेवा, चौबिसै घण्टा चिकित्सकीय निगरानी, सघन उपचार कक्ष, दक्ष जनशक्ति र आई.सि.यु तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था लगायतका उपाय लगाएपछि निजीको तुलनामा सरकारी अस्पताल भरपर्दो साबित हुँदै गएका हुन् । मोरङमा विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड-१९ उपचार केन्द्र, कोशी अस्पताल, नोबेल मेडिकल कलेज र बुढीगङ्गास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीहरुको उपचार हुने गरेको छ ।

तर पछिल्लो समय कोरोना संक्रमितको उपचारमा निजीभन्दा सरकारी अस्पताल नै छनौटमा पर्न थालेका छन् । निजी कोेभिड अस्पतालमा उपचार गराएर फर्किएकाहरुले पनि सरकारी अस्पताल नै भरपर्दो हुने गरेको बताउँदै आएका छन् । सरकारी अस्पतालमा नर्सहरुले गर्ने व्यवहारदेखि प्रवाह हुने चिकित्सकीय सेवासम्म सबै उत्कृष्ट हुने गरेको उनीहरुको भनाई छ । कोभिड पोजिटिभ भई विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रमा १० दिन उपचार गराएर घर फर्किएका विराटनगर-८ मधुमाराका ध्रुव सापकोटा भन्छन्, ‘मलाई निमोनिया र झाडापखालाले बढी सिकिस्त बनाएको थियो । तर कोशी कोभिडमा पुगेपछि मैले राम्रो ट्रिटमेन्ट पाए । १० दिनमै कोरोना नेगेटिभ भएर घर फर्किए ।’

कोभिड-१९ उपचार केन्द्रले पछिल्लो समय बिरामीहरुका लागि निःशूल्क परामर्श सेवाको सुरुवात गरेसँगै अधिकांश बिरामीहरु मानसिक रुपमा विछिप्त हुनुबाट पनि जोगिएको विराटनगर-१५ का वसन्त राई बताउँछन् । ‘अस्पतालको परामर्श सेवाका कारण मृत्युको मुखमा बिरामीहरु पनि चाँडै निको हुने गरेको देखेको छु,’ उनले भने, ‘परामर्शकै कारणले होला अस्पतालको रिकभरी रेट पनि उच्च छ । संक्रमित हुँदा मैले पनि गुणस्तरीय सेवा पाए । गुनासो गर्ने ठाउँ छैन् ।’

निजी कोभिड अस्पतालमा सरकारसँगको सम्झौता विपरित चर्को शूल्क असुल्ने, अनावश्यक औषधी महङ्गोमा खरिद गर्न लगाउने, बिरामीलाई नर्र्सको भरमा छोडिदिने र डाक्टर आउँदै नआउने लगायतका बेथिति बढेपछि आम नागरिकले निजीभन्दा सरकारी अस्पताललाई भरपर्दो ठान्न थालेका हुन् । निजीमा गरिब तथा विपन्न वर्गका बिरामीले आई.सि.यु बेड नपाउने, उपचार अगावै १ देखि २ लाखसम्म धरौटी राख्नुपर्ने र बिरामीको उचित रेखदेख नहुने लगायतका कारण पछिल्लो समय आम नागरिकले सरकारी अस्पताललार्ई सुरक्षित महशुस गर्न थालेका छन् ।

मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा जेठ ३१ गते भर्ना भई असार १७ गते डिस्चार्ज भएका विराटनगर-१० का कमल बहादुर कोईराला भन्छन्, ‘निजी कोभिड अस्पतालको भर छैन, उनीहरु जनताको दुःख बुझ्दैनन् ।’

विराटनगर-१० का कोईरालाले पनि कोरोना संक्रमित भएपछि कुल १७ दिन विराट मेडिकल कलेजमा उपचार गराएका थिए । ७ दिन जेनरल वार्ड र १० दिन आई.सि.यु मा बसेर असार १७ गते डिस्चार्ज भएपछि अस्पतालले उनलाई उपचार खर्च भनेर ६ लाख ७१ हजारको बिल थमाईदियो । छुटसहित उनी ४ लाख ६१ रुँपैया तिरेर उनी घर फर्किए । दुई दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेवसाईट हेरेपछि उनले थाहा पाए, ‘अस्पतालले त निःशूल्क उपचार गर्नुपर्ने रहेछ ।’ हाल उनले जिल्ला प्रशासन कार्यालय मोरङमा उपचार खर्च बापत लिएको बढी रकम फिर्ता गर्ने सम्बन्धमा निवेदन दिएका छन् ।

‘संक्रमित भएर भर्ना हुँदा अस्पतालले उपचारका क्रममा आवश्यक पर्ने रेमडिसिभिर दिएन । आफन्तले नोबेल अस्पतालको फार्मेसीबाट ५ हजार १ सयमा उक्त औषधी किनेर ल्याए,’ उनले भने, ‘अस्पतालले ५ हजारको रिमडिसिभिर २५ हजारमा बेच्न खोज्यो ।’

कोरोना संक्रमितहरुको उपचारका निम्त्ति प्रदेशमा निजीस्तरबाट सञ्चालित अधिकांश कोभिड अस्पतालहरुको अवस्था यस्तै छ । जसकारण पछिल्लो समय निजी अस्पतालहरुले आम नागरिकको विश्वास गुमाउन थालेका छन् ।

सरकारी तथ्यांक अनुसार मोरङमा हालसम्म २९ हजार ७ सय १८ जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । कुल संक्रमितमध्ये २७ हजार ५ सय १६ जना संक्रमणमुक्त भईसकेका छन् । जसमा निजीको तुलनामा सरकारी अस्पतालकै रिकभरी रेट उच्च रहेको सरकारी तथ्यांकले पुष्टि गर्छ । मोरङमा हालसम्म भने कोेरोना संक्रमणका कारण ३ सय ६५ जनाले छन् भने पछिल्लो २४ घण्टामा २ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार, २१ असार, २०७८, रातीको ०९:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर