अन्ततः गले विपीका उपकुलपति

आन्दोलनकारीको प्रशंसा, वार्ताको आह्वान

विराटनगर । लामो समय आन्दोलनलाई वेवास्ता गरेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बुधबार आन्दोलनकारीको प्रशंसा गरेर विज्ञप्ति निकालेका छन् ।

उपकुलपतिसहित प्रतिष्ठानका चारै जना पदाधिकारीको बहिर्गमनलाई मुख्य मुद्दा बनाउँदै आन्दोलनकारी चिकित्सक तथा कर्मचारीले उनीहरुको कार्यकक्षमा तालाबन्दी गरेकै दिन उनले वार्ताको आह्वान पनि गरेका छन् ।

प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार गर्दै उपकुलपति गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने विश्वास आफूले राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा प्रतिष्ठानप्रति निष्ठावान भई का मगर्ने दौरानमा आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने’ प्रतिबद्धता पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । आफूले आन्दोलनलाई वेवास्ता गरेको नभई प्रतिष्ठानकै कामले काठमाडौंमा रहनु परेको दाबी गर्दै उनले सौहाद्र्रपूर्ण वार्ताका लागि आह्वान पनि गरेका छन् ।

तर, आन्दोलनकारीले भने बुधबार बिहान विज्ञप्ति जारी गरेर अब प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नहुने, प्रधानमन्त्रीको पहलमा वार्ता टोली गठन भएर समस्या समाधानको पहल एक साताभित्र नभए सामूहिक राजीनामा दिने घोषणासमेत गरिेका छन् । असार २३ सम्मको अल्टिमेटम दिँदै प्रतिष्ठानको संयु्क्त संघर्ष समितिले त्यसबेलासम्म माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका छन् । आन्दोलनकारीले यस्तो कदम चालेपछि उपकुलपतिले विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेका हुन् ।

बुधबार पदाधिकारीको कार्यकक्षमा ताला लगाएपछि जारी विज्ञप्तिका अनुसार उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मी, रेक्टर प्राडा गुरु खनाल र मेडिकल डाइरेक्टर प्राडा गौरीशंकर साहको बहिर्गमनलाई आन्दोलनकारीले अबको न्यूनतम शर्त बनाएका छन् ।

त्यस्तै प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्डहरु पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपर्ने माग आन्दोलनकारीको छ
उपकुलपति गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधपछि विपीमा पछिल्लो आन्दोलन सुरु भएको थियो । लगत्तै काठमाडौं गएर लामो समय बसेका उनी सोमबार साँझ धरान आएका थिए ।

प्रतिष्ठानमा आएपछि वार्ताका लागि आन्दोलनकारीलाई बोलाएर उनले असामान्य गतिविधि गरेको भन्दै मंगलबार उनीसहितका पदाधिकारीलाई आन्दोलनकारीले थुनेका थिए ।
आन्दोलनकारीले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको आरोप लगाएका थिए । त्यसपछि परिस्थिति बिँग्रँदै गएपछि उनले विज्ञप्ति जारी गरेका हुन् ।

बुधबार, १६ असार, २०७८, साँझको ०७:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर