एमालेको आयोजक समिति खारेज, स्थायी समितिमा ८ मनोनित

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सर्बोच्च अदालतले महाधिवेशन आयोजक समितिले केन्द्रीय समितिको अधिकार प्रयोग गर्न नसक्ने आदेश दिएपछि एमालेले आयोजक समिति भंग गरेको हो ।

बैठकले स्थायी कमिटीमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई मनोनित गरेको छ । यस्तै एमाले र माओवादी केन्द्रको एकता अगाडि एमालेको स्थायी समितिमा थपिएका रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई पनि स्थायी समितिमा मनोनित गरेको प्रवक्ता ज्ञवालीले बताए ।

एमाले बैठकले कोरोना नियन्त्रण तथा बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए । अब एमालेका काम कारबाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएका छन्।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् । बैठकमा माधबकुमार नेपाल पक्षधर नेताहरुको पनि सहभागिता थिएन । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको एमालेले जनाएको छ ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। बैठकले वरिष्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्चमा पार्टीले सहयोग गर्ने निर्णयसमेत गरेको छ।

बुधबार, १६ असार, २०७८, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर