विराटनगर । प्रदेश १ मा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो एक सातामा प्रदेशमा संक्रमित हुनेभन्दा पनि संक्रमण मुक्त हुनेको संख्या बढेको हो ।
प्रदेशमा बिहीबार १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बुधबार एक हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका थिए । जसमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन् । मंगलबार प्रदेश–१ मा ५५७ जना संक्रमणमुक्त भए । जसमा २३२ महिला र ३२५ पुरुष थिए । जबकि, त्यो दिन ३८५ जना कोरोना संक्रमित थपिए ।
प्रदेश–१ को सबैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो । त्यसमा पनि राजधानी विराटनगर अधिक प्रभावित छ । विराटनगरमा पनि संक्रमितको संख्या घट्दो क्रममा छ ।
संक्रमित घट्दा पनि जोखिम उस्तैः चिकित्सक
विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दासले पछिल्लो समय कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कमी आएको बताए । ‘संक्रमणमुक्तको संख्या वृद्धि हँुदा जोखिम भने घटिसकेको छैन । संक्रमण पूरै भागेको होइन, स्वास्थ्य सावधानी भने अपनाउनै पर्छ,’ मेसु दासले भने ।
फाइल फोटोः हाम्रोमत