विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ को आयोजनामा युवाहरुलाई १ महिने रोजगारमुलक तालिम प्रदान गरिएको छ ।
वडा नं. ६ का बहुसंख्यक युवा वर्गलाई लक्षित गर्दै उनीहरुलाई ड्राईभिङ सम्बन्धी नि:शुल्क तालिम प्रदान गरिएको हो । वडा नं. ६ को आयोजना र गौरीभक्त ड्राईभिङ स्कुलको समन्वयमा १८ देखि ३० बर्ष उमेर समुहका ३० जनालाई युवाहरुलाई तालिम प्रदान गरिएको हो। उनीहरुलाई २०७६ माघ २२ गतेदेखि फागुन २२ गतेसम्म कुल ३० दिन तालिम प्रदान गरिएको गौरीभक्त ड्राईभिङ स्कुलका प्रतिनिधि मनिष चाँपागाई बताउनुभयो ।
त्यस्तै वडा नं. ६ का वडाध्यक्ष विजय कामतले युवा लक्षित ड्राईभिङ तालिम जीवनपयोगी साबित हुने धारणा व्यक्त गर्नुभएको छ । उहाँले यस किसिमका तालिमहरुले युवाहरुमा रोजगारीको अवसर सिर्जना गर्ने जिकिर गर्नुभएको छ । वडाध्यक्ष कामतले यस तालिमका लागी वडा कार्यालयबाट कुल ४ लाखको बजेट विनियोजन गरिएको जानकारी समेत दिनुभयो । शानिबार भने निर्धारित सीप र ज्ञानको प्रर्दशन गरी सफलतापुर्वक तालिम सम्पन्न गरेकोमा तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको छ ।
प्रमाणपत्र वितरण एवं तालिमको समापन समारोहमा भने वडा नं. ६ का वडाध्यक्ष विजय कामत, सचिव राजकुमार विश्वास, विराटनगर महानगरपालिकाका सामाजिक शाखाका अधिकृत्त पुनम कुमार दाहाल तथा प्रशिक्षक श्याम दाहाल र रेवती शर्मा कट्टेल लगायतको उपस्थिति रहेको थियो ।