विराटनगरका युवाहरुले दीप प्रज्वलन गरि मनाए विश्व रक्तदाता दिवस

विराटनगर । आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

यस वर्ष ‘सेवाले रक्तदान गरौं र संसारलाई चलायमान बनाऔं’ भन्ने मुल नाराका साथ रक्तदाता दिवस मनार्ईएको हो । विराटनगरमा पनि रगत व्यवस्थापनका निम्त्ति सक्रिय संस्था ‘ब्लड फर लाईफ’ ले रक्तदाताहरुको सम्मान र हौसलाका बढाउन घरबाटै दिप प्रज्वलन गरि यो दिवस मनाएको छ । पछिल्लो डेढ महिनाको अवधिमा संस्थाले १ सय जनाभन्दा बढीको रगतको माग आपुर्ति गर्न सफल भएको छ ।

हाल ब्लड फर लाईफको मेजर टीम पुजा विश्वास, अभिषेक गौतम, कृताञ्जली बराल, रिवाज खतिवडा, प्रजिला वाग्ले र भावुक घिमिरेसहितका सदस्यहरु छन् यस्तै संस्थाको सदस्यमा भने महेश पासवान, अभिनाश मण्डल, अञ्जली, राजवंशी र रितेश राजवंशी लगायतका युवाहरु छन् । बैशाख २१ गतेदेखि उक्त संस्था सञ्चालनमा आएको हो ।

किन मनाईन्छ विश्व रक्तदाता दिवस ?

हरेक वर्ष जुन १४ तारिखका दिन विश्वभरि रक्तदाता दिवस मनाईन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । मानव रगत समूह (ब्लड गुप्र) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिनको अवसर पारेर सन् २००४ देखि हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।

कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?

सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक ३ महिनामा रक्तदान गर्दा शरिरमा कुनै हानी नोक्सानी नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकको दाबी छ । रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका बिरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल ३ वटा पर्दाथ बनाइ ३ जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ समेत भन्ने गरिन्छ ।

नेपालमा भने दैनिक २५० युनिट रगतको आवश्यकता पर्ने गरेको केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रको तथ्याङ्क छ ।

सोमबार, ३१ जेठ, २०७८, बिहानको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर