पाँचथर । जिल्लाको भारतको सिक्किमसँग सिमाना जोडिएको याङवरक गाँउपालिकाको चिवाभञ्ज्याङमा बोर्डर आउट पोष्ट (बीओपी) भवन शुक्रबार उद्घाटन भएको छ ।
शुक्रबार एक कार्यक्रम गर्दै सशत्र प्रहरी १ नम्बर प्रदेशका बाहिनीपति (डिआइजी) वंशिराज दाहाल र पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले भवनको संयुक्त रुपमा उद्घाटन गरे ।
संघीय सरकारको ९८ लाख ६६ हजार रुपैयाँ आर्थिक लगानीमा निर्माण भएको बिओपी भवन गत पुष महिनादेखि निर्माण सुरु भएको सशस्त्र प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिए ।
यस अघि गाउँपालिकाले बिओपिका लागि २ लाख लगानी गरेर किचन घर निर्माण गरेको थियो भने ४ लाखको सोलार सेट र खानेपानीको प्रबन्ध पनि गाउँपालिकाकै लगानी रहेक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।
चिवाभञ्ज्याङबाट सिक्किम पुग्न करिब ४ घण्टाको ओरालो बाटो जानुपर्छ । यो सिमाना नाकामा चिवाभञ्ज्याङ र सिक्किमबीच आवत–जावतका लागि मोटर बाटो निर्माण भएको छ । गाउँपालिका अध्यक्ष घिमिरेले सो स्थानमा भन्सारनाका समेत निर्माणका लागि पहल भइरहेको बताए ।