प्रदेश १ संसद् बैठक

संघ र प्रदेश सरकार अपराधी सावित: काँग्रेस

विराटनगर । प्रदेश १ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रभुलाई भेटी चढाउन चुरे बेच्ने योजना ल्याएको’ आरोप लगाएको छ ।

बुधबारको प्रदेशसभा बैठकमा बोल्दै काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने ‘प्रधानमन्त्रीले प्रभुलाई भेटी चढाउन यस्तो योजना ल्याएका हुन् , यसको हामी विरोध गर्दछौं ।’

शुन्य समयमा बोल्दै उपनेता कार्कीले प्रदेश सरकार प्रदेशको नामकरण बारे मुख्यमन्त्रीले यसअघि नै सहमति भएको भनेर दिएको अभिव्यक्तिको निर्णय कपी सदनमा पेश हुनुपर्ने बताए । ‘कहाँ कोसँग सम्झौता भएको हो, सदनमा प्रष्ट हुनुपर्छ’, उनले भने ।

विशेष समय लिएर बोल्दै काँग्रेस प्रमुख सचेतक केदार कार्कीले प्राकृतिक स्रोत बेचेर व्यापार घाटा कम गर्ने योजना मृगौला बेचेर लुतोको उपचार गरे जस्तै भएको भन्दै व्यंग्य गरेका छन् । ‘मृगौला बेचेर लुतोको उपचार गर्न मिल्छ प्रधानमन्त्रीज्यू ?’
प्रदेश र संघीय सरकार अपराधीहरुको झुण्ड भएको गम्भीर आरोप लगाउँदै उनले थपे ‘अस्पताल नपाएर जनता मरेका छन्, उपचारको प्रबन्ध छैन, खान पाएका छैनन् सरकार चाहिँ मस्तीमा छ । यो अपराध हो ।’

मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा उभिएर सधैं झुट बोल्ने गरेको भन्दै उनले आपत्ति प्रकट गरे । ‘मुख्यमन्त्रीले सोच्नुपर्छ यहाँ आएर झुट बोल्दा अरुले पनि बोल्छन् ।’ मुख्यमन्त्रीले प्रदेश नामकरण, बजेट लगायतका विषयमा झुट बोलेको उनको आरोप थियो । कोरोना महामारीमा प्रदेश सरकार कतै नभेटिएको उल्लेख गर्दै उनले सरकार खोज्नुपर्ने अवस्था आएको बताए ।

बुधबार, २६ जेठ, २०७८, दिउँसोको १२:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर