के हो कोरोना, के हो मौसमी रुघाखोकी ?

विराटनगर । विश्वभर कोरोना भाइरसको प्रकोप फैलिरहेको बेला नेपालमा भने अहिलेसम्म समस्या देखिएको छैन ।

कोरोनाको शंकामा कतिपय व्यक्तिहरुलाई आइसोलोसनमा राखिएको भएपनि उनीहरुको रिपोर्ट नेगेटिभ आउनु सबै नेपालीको लागि सुखद् समाचार हो ।

नेपालमा जाडो सकिएर गर्मी सुरु हुँदै गएकोले अहिले धेरैलाई मौसमी फ्लुको समस्या देखिन्छ । कोरोना भाइरसको आतंक संसारभर रहेकोले सामान्य रुघा लाग्दा पनि धरैलाई चिन्ता हुन्छ । कोरोना भाइरसको संक्रमण त भएन भने आत्तिनुपर्ने अवस्था छ । सचेत हुनु राम्रो पनि हो ।

भाइरसको संक्रमण फैलने अवस्था अगाडि नै साबधान अपनाउन सकेमा नै राम्रो हुन्छ । कोरोनाको परीक्षण अस्पतालमा गएपछि मात्र पुष्टि हुने भएपनि मौसमी फ्लु र कोरोना के हो भन्नेबारे आफैं छुट्याउन सकिन्छ ।

कसरी थाहा पाउने ?
– विश्व स्वास्थ्य संगठनका अनुसार रुघा, मर्की र कोरोना भाइरसका केही समान लक्षण छन् । तर, रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैनन्।

– तपाईंलाई हाछ्यूँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक टालिएको छ भने, त्यो कोरोना भाइरसको लक्षण होइन। यी कुनै पनि लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिँदैनन्।

– कोरोना भाइरस हुँदा प्रायः टाउको दुख्ने वा वाकवाकी लाग्ने पनि हुँदैन।

– हाछ्यूँ आउने, नाक बग्ने–टालिने केही पनि समस्या छैन तर सुख्खा खोकी लागिरहेको छ भने तपाईं सचेत हुनुपर्‍यो।

– सुख्खा खोकीसँगै सास छोटो भएको छ, ज्वरो आएको छ र सास फेर्न कठिन छ भने तुरुन्तै डाक्टरकहाँ जचाउन जानुपर्छ।
– कोरोना भाइरसमा कहिलेकाहीँ जिउ दुख्ने र थकान लाग्ने पनि हुन्छ । यस्तोमा तपाईं सचेत हुनुपर्छ। यी लक्षण देखिएपनि कोरोना भाइरस नहुनसक्छ । किनकि रुघामर्कीमा जिउ दुख्ने र थकान लाग्ने हुन्छ। ज्वरो पनि आउँछ।

– सास फेर्न गाह्रो हुने र ज्वरो एकैपटक देखिएको छ भने त्यो कोरोना भाइरसको लक्षण हुने सम्भावना हुन्छ।

– यस्तो देखिएमा जचाउन जानुपर्छ । अरूका नजिक जानु हुँदैन । तुरुन्तै मास्क प्रयोग गर्नुपर्छ ।

चिकित्सकका अनुसार कोरोना देखिएपनि धेरैको घरमै थाहा नपाई निको हुन्छ । सय जनामा कोरोना भाइरसको संक्रमण देखियो भने ८० जनाको आफैं ठिक हुने बताइन्छ । सामान्य रूघाखोकी लागेकोले उनीहरुले घरमै नुनपानी, बेसार खाएरै निको हुन्छ।
त्यसपछि सयमा १५ जना अलिअलि बिरामी हुने र सामान्य उपचारपछि ठीक हुने हुन्छ । सय जनामध्ये ५ जनालाई मात्रै आइसियुमा राख्नुपर्ने हुन्छ र त्यसमा भने २ जनाको मृत्यु हुन्छ। अहिलेसम्म त्यही देखिएको छ ।

भाइरसबाट जोगिन सबैभन्दा पहिलो जनचेतना व्यापक बढाउनु पर्छ। दोस्रो, आफूलाई त्यस्तो भयो भने अरूलाई नसरोस् भनेर मास्क प्रयोग गरेर घरमै बस्नुपर्छ। सिकिस्त र अप्ठेरो भयो भने चिकित्सककहाँ गएर परीक्षण गर्नुपर्छ भने कसैलाई त्यस्तो भएमा संक्रमितबाट सर्छ भन्ने भएमा हुलमुलमा जानु हुँदैन र गइहालियो भने मास्कको प्रयोग गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण काम भनेको हात धोइ राख्ने नै हो। कतै छोइयो भने हात साबुनपानीले नधोएर अनुहारमा ल्याउनु हुँदैन ।

शनिबार, ०१ चैत, २०७६, दिउँसोको ०१:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर