आजदेखि प्रदेश १ संसद्को बजेट अधिवेशन

विराटनगर । प्रदेश १ संसद्को आठौं तथा बर्खे अधिवेशन आज (सोमबार) सुरु हुँदैछ ।
कोरोना महामारीो कारण देखाउँदै अध्यादेशबाट बजेट ल्याउने तयारीमा रहेको प्रदेश १ सरकार विपक्षीहरुको तीव्र दबाबका कारण संसद् अधिवेशन आह्वान गर्न बाध्य बनेको थियो । सोमबार दिनको दुई बजे सुरु हुने यो अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ ।
यसअघि बैशाख ५ मा प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन विपक्षी अवरोधकै बीचमा टुंगिएको थियो । अधिवेशनका आठ वटा बैठकमध्ये मुख्यमन्त्री शेरधन राई अन्तिम बैठकमा मात्रै संसद्मा सहभागी बनेका थिए ।
प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ । त्यसको १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी प्रबन्ध छ । तर, यसपटक प्रि बजेट छलफल छोटो अवधिमै सक्ने गरी सरकारले अध्यादेश ल्याएको छ ।
सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी सुरु गरेपछि प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा चेतावनी दिएका थिए । उनीहरुले प्रदेश प्रमुखलाई भेटेर पनि अधिवेशन बोलाउन सरकारलाई सम्झाउन आग्रह गरेका थिए । लगत्तै मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक राखेर बजेट संसद्बाटै ल्याउने बताएका थिए ।
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, सत्तापक्षकै अगुवाइमा संसद् अवरोध र बहिष्कारकाबीच हिउँदे अधिवेशनमा कुनै पनि विधेयक पारित हुन सकेन । हालसम्म प्रदेश १ संसद्बाट पाँच संशोधन ऐन, दुई संसद् नियमावलीसहित ५६ वटा विधेयक पारित भइसकेको छ । प्रदेशको राजधानी निक्र्योल भए पनि प्रदेश नामकरण भने बाँकी नै छ ।

 

सोमबार, २४ जेठ, २०७८, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर