इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरी टोलीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
सप्तरीको तत्कालिन डिमन गाविस १ का महन्थी यादवका छोरा सुकदेव यादव र सुकदेवको जेठो छोरा बिनोद यादवलाई सोही ठाउँका दिलिपकुमार यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरुले १४ वर्ष अगाडि गोली हानी दिलिपको हत्या गरेको अभियोग रहेको छ । प्रहरी निरीक्षक खनाल नेतृत्वको प्रहरी टोलीले २०६२ साल असोज १७ गते भएको घटनामा संलग्न रही सुनसरीको इनरुवा नगरपालिका ९ बवियामा लुकीछुपी बस्दै आएका उनीहरुलाई पक्राउ गरेको हो ।
इनरुवा नगरपालिका ९ बवियाका डम्बर यादव, रामकुमार यादव, उपेन्द्र यादव र देवनारायण यादवले हत्या आरोपी सुकदेव र बिनोदलाई संरक्षण गरेको स्थानीयले बताएका छन् । उनीहरु १४ बर्षदेखि बवियामा लुकीछुपी सुकदेवको सालो डम्बर यादव, देवनारायण यादव, मिश्रिलाल यादवका छोरा रामकुमार यादव र उपेन्द्र यादवको संरक्षणमा बस्दै आएका थिए । आफ्नै बहिनीज्वार्इं पर्ने सुकदेव र भाञ्जा बिनोदले दिलिपको हत्या गरेपछि उनीहरुलाई संरक्षण दिँदै डम्बरले नै बवियामा जग्गा किनेर घर बनाईदिएको स्थानीयले बताएका छन् ।
आरोपीहरुले डिमनमा आफ्नो नाममा रहेको जग्गा जमिन बिक्रि गरी बवियामा राईस मिल र किराना पसल सञ्चालन गर्दै आएका थिए । जग्गाको समान्य विवादमा दिलिपको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपीलाई सप्तरी प्रहरीको जिम्मा लगाएको र उनीहरुमाथि संरक्षण गर्नेमाथि छानविन भइहरेको सुनसरी प्रहरीले जनाएको छ ।