विराटनगर । उदयपुरमा कोरोना भाइरसको संक्रमणबाट एक साताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
यसअघि कोरोनाबाट दुई छोरा गुमाएकी रौतामाई गाउँपालिका ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मगरको बिहीबार विहान मृत्यु भएको हो ।
दुई छोराको मृत्युको शोकमा रहेकै बेला बिहीबार बिहान तिलमायाँको पनि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचारपछि होम आइसोलेसनमा लगिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा उनका दुई छोराको मृत्यु भएको थियो । जेठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुरको विराट मेडिकल कलेजमा र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कलको नोवेल मेडिकल कलेजमा मृत्यु भएको थियो । दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै कोरोनाले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए ।
दुई साता तीन दाजुभाई र आमामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा भर्ना भएका थिए । एक छोरा भने कोरोनामुक्त भएका छन् । योसँगै उदयपुरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।