स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा निर्घात कुटपिट

विराटनगर । ड्युटी सकेर घर जाँदै गरेका विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीबाट निर्घात पिटिएका छन् ।

कोशी अस्पतालमा कार्यरत सिनियर अहेव अशोक राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा ड्युटीमा खटिएका प्रहरीले कुटपिट गरेका हुन् ।

कोशी अस्पतालमा ड्युटी पुरा गरेपछि घर जाँदै गर्दा प्रहरीले एक्कासी कुटपिट गरेको पीडितको भनाई छ । ‘ड्युटी पूरा गरेपछि घर जाँदै थिए, देवकोटा चौकमा पुगेपछि प्रहरीले रोक भन्नुभयो’ उनले भने, ‘म रोकिएपछि मलाई एक्कासी हातमा र तिघ्रामा भाटाले कुटन थाल्नुभयो ।’ आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै कुटपिट गरेको उनको भनाइ छ ।

देवकोटा चौकमा रहेको प्रहरीको टोली कमाण्डरले नकुट भन्दा प्रहरीले कुटपिट गरेको प्रहरीको भनाइ छ । कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोटपटक लागेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीमाथि अनुसन्धान भइरहेको बताएका छन् । ‘चेकजाँचको क्रममा मोटसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको देखिएको छ,’ डिएसपी राईले भने, ‘घटनाको विषयमा थप बुझने कामहरू भइरहेको छ ।’

ड्युटी सकेर घर फर्किएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताएका छन् । स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि बुधबार एसपी खड्कासहित कोशी अस्पतालमा बैठक बसेको थियो । बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने एसपी खड्काले जानकारी गराउनुभएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

‘कुटाइ खाने स्वास्थ्यकर्मीले जाहेरी दिएपछि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने भनेर अहिले भर्खर सकिएको बैठकमा जानकारी गराएर जानुभएको छ,’ मेसु दासले भने, ‘स्वास्थ्यकर्मी राजवंशीले पनि घाउँजाँच गरेपछि जाहेरी दिन मोरङ प्रहरी कार्यालय जानुहुनेछ ।’ स्वास्थ्यकर्मीले जोखिम मोलेर काममा खटिएको अवस्थामा सुरक्षाकर्मीबाटै कुटपिट हुनु आपत्तीजनक रहेको भन्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।

बुधबार, १९ जेठ, २०७८, दिउँसोको १२:१८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर