विराटनगर । चीन सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप सिनोभ्याक लाई विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोग अनुमति दिएको छ । १८ वर्ष भन्दा माथीका व्यक्तिलाई लगाउन मिल्ने सिनोभ्याकको आपतकालिन प्रयोग अनुमतिले खोपको अभाव झेलिरहेका विश्वका धेरै मुलुकलाई राहत मिल्ने विश्वास गरिएको छ ।
यस अघि विश्व स्वास्थ्य संगठनले चिनियाँ कम्पनीको सिनोफार्म खोपलाई आपतकालिन प्रयोग अनुमति दिएको थियो ।
सिनोभ्याकका विशेषता
डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि दोस्रो डोज लगाउनुपर्छ ।
सिनोभ्याक खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्छ । अर्थात् घरमा चलनचल्तीमा प्रयोग हुने रेफ्रिजेरेटर (फ्रिज) मा राख्न मिल्छ । कम तापक्रममा पनि खोप भण्डार गर्ने मिल्ने भएकाले यो खोप विकासोन्मुख देशहरुलाई सहज हुने विश्वास गरिएको छ ।
सिनोभ्याक खोपले खोप लगाएका शतप्रतिशत मानिसमा कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने अध्ययनहरुमा पाइएको छ ।
डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको जनाएको छ । डब्ल्यूएचओबाट अनुमति पाउनुअघि नै सिनोभ्याकको यो खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा प्रयोग भइसकेको छ ।