विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा अक्सिजन अभाव सुरु भएको छ । मोरङका अक्सिजन उत्पादन गर्ने उद्योगहरूले विद्युत अवरोध भएको कारण माग अनुसार अक्सिजन उत्पादन गर्न नसक्दा अभाब भएको बताएका छन् ।
अक्सिजन अभाब हुँदा अस्पतालहरूले कोरोना संक्रमितको उपचारमा कठिनाइ भइरहेको बताएका छन् । विराटनगरस्थित न्यूरो हस्पिटलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।
न्युरोका ३६ शय्यामा भर्ना भएका कोरोना संक्रमितका लागि अक्सिजन अभाव देखिएको हो । ‘ एक दिनसम पुग्ने अक्सिजन मात्र अस्पतालमा रहेको छ,’ उनले भने, ‘स्थानीय प्रशासन र प्रदेश सरकारलाई अक्सिजन अभाव भएको जानकारी गराउँदा पनि जोहो गरिदिने पहलकदमी भएको छैन ।’ न्यूरोमा दैनिक १ सय ५० सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ ।
कोभिड अस्पताल सुरू भएपछि संक्रमितको चाप बढ्दै गएको तर अक्सिजन प्रयाप्त नुहदा समस्या आएको अस्पतालले जनाएको छ । अक्सिजन सप्लाई गर्ने कम्पनी मारुतीले विद्युत अवरोध भएको कारणले प्रर्याप्त अक्सिजन उत्पादन नगरेको बताउने गरेको छ ।
‘अक्सिजन माग अनुसार नआएपछि हामीले मान्छे पठाएर सोधेका थियौं, बिजुली नभएर उत्पादन गर्न सकेनौं भनेर जवाफ आयो’, भट्टराईले भने, ‘बिरामी तड्पिराखेको छ, हामीले के भनेर बिरामीलाई भन्ने निकै दुःखद् अवस्थामा छौं ।’ अक्सिजनकै अभावका कारण धेरै संक्रमितको ज्यान जाने खतरा देखिएको उनले बताए । ‘अक्सिजनको खोजीमा सबैतिर लागि परिसक्यौं अहिलेसम्म पाएको छैन,’ उनले भने, ‘साँझसम्ममा थप अक्सिजन नपाए साह्रै अप्ठेरो अवस्थामा पुग्नेछौं ।’
न्यूरोको कोभिड अस्पतलाको भेन्टिलेटरमा ७ जना, आइसियूमा, १७ र ११ जना कोरोना संक्रमितको एचडियूमा राखेर उपचार भइरहेको छ । अहिले अस्पतालमा स्टकमा १५ सिलिण्डर अक्सिजन मात्रै रहेको छ ।
विराटनगरस्थित कोशी अस्पतालभित्रको कोभिड १९ युनिटमा उपचाररत कोरोना संक्रमितलाई पनि बुधबार राति अक्सिजन अनियमित भएको छ । कोभिड अस्पतालभित्रको एचडियु वार्डमा उपचाररत एक संक्रमितका आफन्तले दिएको जानकारी अनुसार राति अक्सिजन नपाएर विरामीलाई समस्या भएको थियो ।
बुधबार राति अक्सिजन सकिएको जानकारी आएपछि डाक्टरलाई सोध्दा अरु अस्पताल लैजानु भनेको संक्रमितका आफन्तले बताए । संघीय सरकार मातहत रहेको कोशीमा एक साता अगाडि कोभिड–१९ युनिट सञ्चालनमा आएको छ । प्रदेशकै सबैभन्दा ठुलो यस सरकारी अस्पतालमा अहिलेसम्म आफ्नै अक्सिजन प्लान्ट छैन । ठेकेदारको ढिलासुस्तीको कारणले अक्सिजन प्लान्ट जडान हुन नसकेको हो ।
एक चिकित्सकका अनुसार कोशीमा पनि प्रयाप्त अक्सिजन छैन । बुधबार राति अक्सिजन आभाव देखिएपछि केही विरामीका आफन्तले निजी हस्पिटलमा विरामी लगेको उनले बताए । अक्सिजन अभावबारे अस्पतालले मातहतका उच्च निकाय र प्रदेश सरकारमा वानकारी गराएको जनाएको छ ।
कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले अक्सिजन उद्योगबाट नै माग अनुसार अक्सिजन नपाएको बताए । उनका अनुसार कोशी अस्पतालमा अहिले दैनिक २४० सिलिण्डरदेखि ३५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ । कोशीले मारुती र बिनायकसँग सम्झौता गरि अक्सिजन ल्याउने गरेको छ ।
‘बुधबार विद्युत अवरोध भएको कारणले अक्सिजन उत्पादनमा समस्या भएको हामीलाई जानकारी आएको छ,’ मेसु दासले भने, ‘अहिले भर्ना भएका विरामीलाई आवश्यक पर्ने अक्सिजन जोगाड भएको छ ।’ थप अक्सिजन ल्याउन पहल भइरहेको उनले बताए ।
कोशी अस्पतालभित्रको कोभिड युनिटमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा २७९ अक्सिजन सिलिण्ड रहेकोमा स्टकमा ३६ वटा अक्सिजन सिलिण्डरमा मात्र अक्सिजन छ ।
मोरङ र सुनसरीका उद्योगबाट अक्सिजन उत्पादनमा कमी आउँदा विरामी मारमा परेका हुन् । मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । यी उद्योगले नै विराटनगरलगायत पूर्वमा चाहिने अक्सिजन पु¥याएका थिए ।
मारुती अक्सिजन इन्डष्ट्रिजका संचालक शंकर अग्रवालले पानीसँगै आएको हावापुरीले विद्युत अवरोध भएपछि बुधबार राति ७ बजेपछि अक्सिजन उत्पादन हुन नसकेको बताए । २४ घण्टामा ४३० ठूला सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएकोमा हावाहुरीले विद्युत अवरोध गर्दा अक्सिजन उत्पादन नभएको उनको भनाइ छ । अक्सिजन उद्योगमा २४ घण्टा विद्युत आपूर्तीको व्यवस्था राज्यले गरिदिनुपर्ने मागव गर्दा सुनुवाई न भएको उनको भनाइ छ ।
संक्रमण बढेसँगै अक्सिजनको माग बढेपछि धान्न समस्या भइरहेको उद्योगीले बताएका छन् । ‘पूर्ण क्षमतामा २४ घण्टा नै उद्योग चलाउनुपर्ने अवस्था छ । एकैछिन पनि विश्राम नपाउँदा मेसिनरी चिजमा समस्या आउनु स्वभाविक हो,’ उनले भने, ‘उद्योगमा समस्या आउन थाल्दा नियमित उत्पादनमा असर पर्न थालेको छ ।’