विराटनगर । कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनिरहेको बेला बजारमा ज्वरोको औषधी सिटामोल (पारासिटामोल) अभाव देखिएको छ ।
विशेषगरी प्रदेश १ को राजधानी विराटनगरसहित पूर्वमा सिटामोलको चरम अभाब देखिएको हो ।
विराटनगरसहित प्रदेशका मुख्य बजारमा एक सातादेखि सिटामोलको अभाब रहेको एपोलो फार्मेसीका सञ्चालक तथा नेपाल औषधी व्यवसायी संघ प्रदेश १ को उपाध्यक्ष धनराज काफ्ले बताए । बजारमा सिटामोल नपाएपछि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विरामीले औषधि नपाएको बताएका छन् । ‘प्रदेश १ का सम्पूर्ण थोक बिक्रेताहरुलाई बिनम्रताका साथ हार्दिक अनुरोध छ । सक्दो चाडो प्यारासिटामोल यस प्रदेशमा भित्र्याउनुहोस् । खुद्रा व्यवसायीलाई निक्कै सकस् भैइरहेको छ । उपभोक्ताले औषधी नपाएर दुःख पाएका छन् । औषधी उत्पादन संघ (एपोनका) पदाधिकारीले भनेजस्तो सजह अवस्था बजारमा छैन । सम्बन्धित निकायको ध्यान पुगोस् ।’
काफ्लेका अनुसार अहिले दैनिक १० देखि १५ जना उपभोक्ता सिटामोल नपाएर फार्मेसीदेखि फर्किने गरेका छन् । ‘दैनिक पछिल्लो एक हप्तादेखि फार्मेशीमा सिटामोल किन्न ग्राहक आउने गर्दछन् । मेरो पसलमा एक हप्ता अगाडी प्यारासिटामोल सकियो,’ उनले भने, ‘थोकमा पनि छैन भन्ने गरेको छ । अहिले उपभोक्ताले सिटामोल नपाउँदा खाली हात फर्किदैछन् ।’
कोरोना संक्रमण बढेर गाउँगाउँमा जोखिम देखिएपछि सिटामोगको माग बढेको छ । दुई हप्ता अगाडिदेखि सिटामोल खोज्न आउनेको संख्या ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् । होलसेलमा माग गरेको १०–१२ दिन भइसके पनि आपूर्ती नभएको उनीहरुको भनाइ छ । कोरोना संक्रमण भएपछि अधिकांशलाई देखिने प्रमुख लक्षण ज्वरो आउने र टाउको दुख्ने भएकोले सिटामोलको प्रयोग अधिक हुन्छ ।
नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले पनि फार्मेसीहरूमा पछिल्लो समय सिटामोलको अभाब हुन थालेको बताए । ‘डिमान्ड थेग्नै नसक्ने छ तर, १० दिनदेखि सिटामोल आएको छैन,’ उनी भन्छन्, ‘कुनै समय एकैदिनमा ५० देखि सय पत्तासम्म बेचियो । एकैजनाले १०–१५ पत्तासमेत लैजान्थे । सायद त्यसैले पनि होला अहिले बजारमा सिटामोल अभाब छ ।’
धेरैले कोभिड लागिहाल्यो भने खानको लागि सिटामोल थुपार्ने गरेकोले अभाब भएको अनुमान छ । ‘उपभोक्ताले जति सिटामोल दिने हो भने अब मेरो फार्मेसीमा छिनमै सिटामोल सकिन्छ,’ उनले भने, ‘आवश्यकता हेरेर सिटामोल दिने गरेको छु । भएको सिटामोल पनि सकिन लागेको छ ।’ घाँटीको समस्या भइ खाकी लाग्न खाने ‘एजोथ्रिइन माइसिन’ औषधी पनि अभाव देखि थालेको उनले बताए ।
एउटा होलसेलमा मात्र सिटामोल
बजारमा सिटामोल अभाव भएको जनगुनासो आएपछि औषधि व्यवस्था विभाग विराटनगरले सुनसरी र मोरङका थोक पसलमा अनुगमनका गरेको थियो । बजार अनुगमन गर्दा सिटामोल अभाव पाइएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले बताए ।
सुनसरी र मोरङको ७ वटा थोक पसलमा अनुगमनको क्रममा एउटामा मात्र सिटामोल भेटिएको उनले बताए । ‘६ वटामा सिटामोल सकिएको थियो,’ उनले भने, ‘भएको एउटामा पनि ६÷७ हजार पिस मात्र रहेछ ।’ बजारमा सिटोमोल अभाव देखिन थालेकोले केन्द्रमा आश्वश्यक व्यवस्था मिलाइदिन पत्रचार गरिने विभागले जनाएको छ ।
उपभोक्ताहरुलाई पनि विभागले आफ्नो आवश्यकता अनुसार मात्रै सिटामोल खरिद गरेर स्टोर गर्न आग्रह गरेको छ । ‘अहिलेको अवस्थामा अत्यावश्यक औषधि घरभित्र नथुपारौँ,’ उनले भने, ‘आफूलाई चाहिने मात्रै राखौँ ।’
मूल्य समायोजनको माग
औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले भने सरकारले तोकेको रेटमा लागत मूल्य पनि नउठने भएकोले उद्योगहरुले उत्पादन घटाएको कारण बजारमा सिटामोलको अभाब भएको बताएका छन् । ‘राज्यले २०६४ सालमा तोकेको मूल्य नै अहिलेसम्म लागू भइरहेको छ,’ उनले भने, ‘कच्चा पदार्थ तीन–चार गुणाले बढेको हुनाले लागत नै उठ्दैन ।’
मूल्य समायोजन हुन सकेन भने महंगोमा कच्चा पदार्थ किनेर सस्तोमा बेच्न सक्ने अवस्था नरहेको उत्पादकहरु बताएँछन् । डेढ रुपैयाँ लागत लाग्ने सिटामोललाई एक रुपैयाँमा बेच्दा आफूहरूलाई मर्का परेको उनले बताए । अहिले देशभरीमा ६३ वटा नेपालमा औषधी कम्पनी उद्योग रहेका छन् । तीमध्ये १२ वटा उद्योगले सिटामोल उत्पादन गर्दै आएका छन् ।
‘अहिलेको अवस्थामा घाटा खाएर भएपनि अभाव हुन दिनु हुँदैन भनेर उत्पादन गरिरहेका छौँ,’ उनले भने, ‘सिटामोलको मूल्य समायोजन गर्न हामीले माग गर्दै आएको राज्यले सुन्नुपर्छ ।’