विराटनगर । प्रदेश सरकार मातहतमा रहेको विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचार गराउने कोरोना संक्रमितहरुको निको हुनेदर बढिरहेको पाइएको छ ।
अन्य अस्पताल र आइसुलेसनबाट रेफर भई आएका गम्भीर प्रकृतिका संक्रमितहरुको उपचार गरिरहेको अस्पतालबाट जेठ महिनामा मात्रै ४० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । ९६ बेडको अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको दर राम्रो रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए । अस्पतालमा जेठ महिनामा २० जनाले उपचारको क्रममा ज्यान गुमाएका छन् ।
जेठ १ गते ४ जनाकोरोनामुक्त भई डिस्चार्ज भएका थिए भने, २ गते १० जना, ३ गते ८ जना, ४ गते ७ जना, ५ गते ४ जना र ६ गते ७ जना डिस्चार्ज भएका छन् । यसैगरी १ गते ५ जना, ३ गते २ जना, ४ गते ४ जना, ५ गते ६ जना र ६ गते ३ जनाले उपचारको क्रममा ज्यान गुमाएका छन् ।
अस्पतालमा आइपुग्दै गम्भीर अवस्थामा पुगेका बिरामीहरु रहने भएकोले कतिपयको बेडमा भर्ना हुनासाथ मृत्यु हुनेगरेको उपचार केन्द्रका संयोजक साहले बताए । यसैगरी जेष्ठ नागरिक र दीर्घरोगीहरुमा मृत्युको दर बढी देखिएको उनको भनाइ छ । आइसियु, भेन्टिलेटर र अक्सिजन बेडसहित ९६ बेड रहेको उपचार केन्द्रमा अहिले सबै बेडमा बिरामी छन् । उपचार पछि निको हुने भएर डिस्चार्ज भएको अवस्था वा कसैको मृत्यु भएको अवस्थामा मात्रै थप बिरामी भर्ना लिन सकिने अस्पतालले जनाएको छ । उपचार केन्द्रमा भर्ना हुनेको निमित्त एक दर्जनबढी बिरामीहरु अहिले पनि पालो पर्खेर बसिरहेको साहले बताए ।