कोशीको कोभिड १९ युनिट सञ्चालन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा भेन्टिलेटरसहितको ६२ शय्याको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

यसअघि विराटनगरमा प्रदेश सरकार मातहत ९६ शय्याको कोशी कोभिड १९ उपचार केन्द्र सञ्चालनमा रहेकोमा संघीय सरकार मातहतको कोशी अस्पतालले पनि कोरोना संक्रमितको उपचार थालेको हो ।

कडा लक्षण भएका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर विरामीले उपचार पाउन छोडेपछि कोशीले कोभिड १९ युनिट सञ्चालनमा ल्याएको हो । अस्पतालमा ५ शय्याको भेन्टिलेटरसहितको आइसियू, २५ वटा एचडीयू, ३२ वटा अक्सिजनसहितको जेनेरल बेड रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए ।

पोस्मेटल वार्डमा अक्सिजनसहितको जेनेरल वार्ड छ भने दोस्रो तला मेडिकल वार्डमा एचडीयू र अक्सिजनसहितको भेन्टिलेर रहेको छ । कोभिड १९ युनिट बिहीबारदेखि सञ्चालनमा आएकोमा पहिलो दिन ६ जना कोरोना संक्रमित भर्ना भएका छन् भने ३ जना संक्रमितको आइसीयूमा र अन्य ३ जना एचडीयूमा राखेर उपचार सुरू गरिएको छ ।

अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्दै आएको छ । जनशक्ति अपुग भए थप गरेर संक्रमितको उपचार गरिने मेसु दासले बताए ।

कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमितको संख्या अहिले बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरु भरिएका छन् । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने विरामीले बेड पाउन छोडेपछि पालो कुर्नुपर्ने वा कुनै विरामीको मृत्यु हुनुपर्ने अवस्था छ । अहिले प्रदेश १ मा दैनिक एक हजार बढि संक्रमित थपिइरहेका छन् ।

कोशीले सुरु गरेको कोभिड १९ युनिटमा अक्सिजन सिलिण्डर अभाव हुने देखिएपछि सहयोग आउन सुरू भएको छ । विराटनगर महानगरपालिको शुक्रबार ५० सिलिण्डर दिने भएको छ । अहिले कोशीमा ८५ अक्सिजन सिलिण्डर छ । कोरोना संक्रमितको उपचार गर्न कम्तिमा ३ सय अक्सिजन सिलिण्डर आवश्यक पर्ने भएकोले त्यस अनुसार सहयोगको पहल भरहेको अस्पतालले जनाएको छ ।

शुक्रबार, ०७ जेठ, २०७८, बिहानको ११:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर