विदुर कटुवाल
उदयपुरका बुद्धिजीवि बोधकुमार घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा क्षतविक्षत भएको बाँसको टाटीले बेरेको घरमा एकजना सेतै कपडा पहिरिएर टुलूटुलू हेर्दै गरेको फोट पोस्ट गर्दै लेखेका छन्, ‘केपी बा कै पवनपुत्र रहेछौ, मेयर लगायत जनप्रतिनिधि ! कृयापुत्री बसेको घरसमेत छाडेनाँै ? धिक्कार छ तिमिहरुलाई !’
घिमिरेले कटारी नगरपालिकाका नगरप्रमुख (मेयर) ज्ञानेन्द्र श्रेष्ठ उर्फ काजी लगायतको टोलीले (हिजो) बुधबार कटारी नगरपालिका ४ जहडीमा रहेको सुकुम्बासी वस्तिमा चलाएको डोजरको विरोध गर्दै लेखेका हुन् ।
घिमिरेकै शब्दमा यता कटारीका स्थानीय युवा निशान मगर पनि सोही फोटो पोस्ट गर्दै लेख्छन, ‘क्रियापुत्री, बुबाको मृत्यु भएको आज तीन–दिन बितेको थियो, यस्तो अवस्थामा नगरपालिकाले बिना जानकारी डोजर चलाएर घरबारबिहिन बनाइदिएको छ । यस्तो बेला कसैको बाँस–गास खोस्दा अलिकति पनि मन पोलेन मेयर, उपमेयर, वडा अध्यक्ष, प्राविधिक कसैको, गरिबको आसुले पोल्छ नबिर्सिनुस, यहि जनताले बनाएर त्यो पोस्टमा पुगेर यहि जनताको उठिबास लगाउने तपाईहरु, पद सधैँ रहदैँन असल कर्म गर्नुस् । उदयपुर कटारीका प्रमुख ज्यु हरु ।
यता उदयपुरका पत्रकार तुलसीप्रसाद कोइराला पनि सोही घटनालाई लिएर फेसबुकमा सोही फोटो पोस्ट गर्दै लेख्छन्, ‘सरकारी भाषामा यो फोटो कटारीका भूमाफियाको हो, जहाँ डोजर लगाईयो ।’
नगरपालिकाले चलाएको डोजरले कटारी नगरपालिका ४ जहडीमा रहेका सकुम्बासी वस्तिका दुई घर क्षतविक्षत बनेका छन् । बुद्धिजीवी घिमिरे, मगर र पत्रकार कोइरालाले फेसबुकमा पोस्ट गरेको फोटोको क्याम्पसनले जो कोहीलाई पनि भावुक बनाउँछ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको देशमा कम्युनिस्ट सरकार छ । सर्वहारा वर्गको नारा लगाउने एमालेकै केन्द्रीय सदस्यसमेत रहेका मेयर श्रेष्ठको नेतृत्वमा कटारी नगरपालिकामा स्थानीय सरकार छ । अनि त्यही कम्युनिस्ट पार्टीको स्थानीय सरकारले भूमाफियाको नाममा सुकुम्बासीको वस्तिमा पसेर, किरियापुत्री बसेको घरमा डोजर चलाउँछ ? त्यो पनि कोरोना महामारीको वेला जारी गरिएको निषेधाज्ञाको मौका छोपेर ? मेयर साव ! स्थानीय सरकारले यति गरेपछि अब के आश गरौँ ?
कटारी नगरपालिका ४ का स्थानीय मान बाहादुर दनुवार र सन्त बहादुर सुनुवारको घर सार्वजानिक जग्गामा बनेको भन्दै नगर प्रमुख श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत लगायतको टोलीले डोजर लगाएको घटनाको अहिले चौतर्फी विरोध भइरहेको छ ।
सुकम्बासी मान बहादुर दनुवारको मृत्यु भएको तीन दिन भएको थियो । छोराहरु दिनेश, सुरेश र सुरज दनुवार तथा आफन्तहरु शोकमा बसेर अन्तिम संस्कार रुवरुप काजकिरिया गरिरहेका थिए । के स्वर्गिय मानबहादुरका आफन्तले काजकिरिया गर्न पनि नगरपालिकाबाट अनुमतिको चिठ्ठिी लिनु पर्ने थियो ? मेयर साव ! आज कटारी नगरबासीको मनमा यही प्रश्न उठिरहेको छ ।
देशभर कोरोना महामारी बढेको छ । त्यसमा उदयपुर पनि अछुतो छैन । जिल्लाभरी निषेधाज्ञा जारी छ । यही निषेधाज्ञाको मौका छोपेर सुकुम्बासीको वस्तिमा पसेर, किरियापत्रुी बसेको घरमा डोजर आक्रमण गर्दा तपाँइ बहादुरी बन्नु भयो ? किरिया पुत्री बसेको घरमा डोजर चलाउँदा स्थानीय सरकारको आभास जनतलाई दिनु भयो मेयर साव ? स्वर्गिय मानबहादुरले पनि स्वर्गबाट वा..उ.. मेयर साव, गजव गरिदिनु भयो । स्यावास भन्नु भयो होला हैन् ।
बुधबार तपाँइले चलाएको डोजरको विरोधमा कटारी बजार तनावग्रस्त बन्यो ? सयौँको भीडले आन्दोलन ग¥यौँ । के ति मान्छेहरु तपाँइको तारिफ गर्न सडकमा आएका थिए ? केहीलाई बोलाएर सोध्नु भयो, किन आन्दोलनमा आएको भनेर ?
कोरोनाबाट जनतालाई बचाउने उपाय जनताको घर भत्काइदिएर आन्दोलनमा आउनु भन्नु हो ? प्रहरी लगायर अश्रुग्याँस प्रहार गर्नु हो ? जनताले उत्तर पाएका छैनन्, मेयर साव ! कोरोनाबाट जनतालाई बचाउन घरमै बस भन्नुको साटो, घर भत्काइदिएर सडक आउनु भन्नु हो मेयर साव !
बुधबार जति सडकमा आएका छन् । ति कोरोनाबाट मर्छौ भनेर होईन् । मेयर आदेशमा गोली हानिदेउ भनेर आएका हुन् ? स्थानीय सरकारले नै घरबारविहीन बनाइदिएपछि कोरोनासँग के को डर ? यदी तपाँइको आदेशमा भत्काइएका घरहरु सुकुम्बासीको नाममा भूमाफियाले नै बनाएका हुन भने, पनि कोरोना महामारीपछि भत्काउँदा हुँदैन थियो ? काजकिरिया सकेपछि भत्काउँदा हुँदैन थियो ? मेयर साव ।
समाचारहरु पढेँ । पटक÷पटक सार्वजनिक जग्गामा बनेका घरहरु भत्काउन नगरपालिकाले सूचना जारी गरेर अनुरोध गरेको थियो । अटेर गरेपछि नगरपालिकाले डोजर चलायो । डोजर चलाउने साइत, यही कोराना महामारीकै समयमा उत्तम थियो मेयर साव ! काजकिरिया चलिरहेको समय विशेष हुने थियो मेयर साव !
डोजर चल्यो । आन्दोलन भयो । अनि समाचारहरु प्रकाशन/प्रशारण भए । अधिकाँस समाचार मेयर, उपमेयर, वडा अध्यक्षको घरमा तोडफोड भन्ने थिए । कमै मात्रमा सुकुम्बासीको घर भत्के । किरियापुत्री घरबारविहीन बनेका समाचर प्रकाशन प्रशारण भए ।
म पनि उदयपुरको एक पत्रकार । मलाई पनि समाचार देखेर अलिकति लाज लाग्यो । मेयर सावलाई फोन गरेर सोधेँ, मेयर सावको जवाफ आयो, ‘सुकुम्बासीको नाममा भूमाफियाको घरमा डोजर लगाइएको हो । एउटा घर मात्र भत्काइएको छ, एउटाचाँही गोठ हो । मेयर साव त्यही गोठमा थिए, तपाँइलाई मेयर बनाउन भोट दिने सुकुम्बासी मतदाता ? अनि काजकिरियामा बसेका स्वर्गिय मानबहादुरका आफन्त ।
यिनै सुकुम्बासीको समाचार आफुले सोचेको जस्तो नआएको भन्दै उनै घिमिरले फेसबुकमा पत्रकारको पनि कटाक्ष गरेका छन्, ‘गज्जब पत्रकार ज्युहरु ! तपाइँहरुको आँखाले मेयरको घर तोडफोड गरेको देख्यो, तर सुकुम्बासिको घर भत्काएको देखेन !
घिमिरे ज्यू ! समाचार सबै प्रकार आउँछन् । तपाँईले खोजेको जस्तो ? अनि रोजेको जस्तो समाचार कहिले आउनेवाल छैन् । हजुर पनि यो देशको बुद्धिजीवि नागरिक । हजुरले घटनाको बारेमा फेसबुकमा कटाक्ष गर्नुभन्दा पहिला सानो आर्टिकल लेख्दा पो राम्रो हुने थियो की ?
मेयर साव । हजुरले नगरबासीलाई भ्रम नर्पन भन्दै नगरपालिकाको तर्फबाट विज्ञप्ति पनि जारी गर्नु भएछ । खुसी लाग्यो । उदयपुरको हकमा सार्वजनिक, ऐलेनी, सरकारी, पर्ति जग्गा भनौँ वा व्यक्तिमा लालपूर्जा नभएका धेरै जग्गामा पक्की तथा आरसिसी घर बनेका छन् । ति घर बनाउन पनि साविकका स्थानीय निकायदेखि अहिलेका स्थानीय तहले अनुमति दिएर बनेकोे विषय पनि जगजायर छ ।
सार्वजनिक, ऐलेनी, सरकारी, पर्ति जग्गामा घर बनाउनेहरुको संख्या ठूलो छ । कतै नापी भएका सरकारी जग्गामा बनेका छन्, भने कतै विद्यालयको नाममा रहेको जग्गामा ठूला बस्तिनै छन् । अहिलेसम्म तिनिहरुको वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने सरकारी नीति आएको देखिदैनन् । स्थानीय सरकारले पनि विशेष ध्याँन दिएको देखिदैनन् ।
कटारी नगरपालिकाका सूचना अधिकारी ओम मिश्रसँग कुरा गर्दा उहाँले भन्नु भयो, ‘स्वर्गीय मानबहादुरको किरिया त्यो घरमा भएको थिएन, सन्तबहादुरले पक्की घर बनाएकाले भत्काइदिएको हो ।’
घर भत्काउने समय यही कोरोना महामारीमा उत्तम हुँदैन भन्ने हेक्का राखेको भए, कति राम्रो हुने थियो । मेयर सावको ध्याँन यसमा केन्द्रीत नहुँदा भित्री रुपमा गडबढ छ, भन्ने आशंका जनतलाई छ । अहिले राजनीतिक दल, बुद्धिजिवी, सरोकारवालहरुले प्रश्न गरिरहेका छन् ।
यदी त्यही भीडबाट कोरोना महामारीले भयवह रुप लियो भने जवाफदेही त, मेयर साव हुनै हुनुपर्छ । भोलिका दिनमा थप आन्दोलन हुन नदिने बाचासहित भीडमा आउनेहरुको कोरोना परीक्षण गर्न कटारी नगरपालिकाले ध्याँन देवस् । यसैमा जनताको भलो हुने छ, मेयर साव ।
अहिलेसम्म पढेको मध्ये सबै भन्दा राम्रो लेख ।।।।
यो समाचार ले नि मन छोयो ।
यो समाचार हेरि सरोकारवाला को पनि ध्यानकर्षण होस ।
Keep it up.
सधै जनता को दुख पीडा बोली दिने समाचार आओस ।
पिडित ले न्याय पाओस ।
Jhole reporters…