विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण मर्नेको संख्यामा वृद्धि भएको छ । २४ घण्टायता मात्रै कोरोनाकै कारण मृत्यु हुनेको संख्या हालसम्मकै उच्च २१ पुगेको छ । हिंजो सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा हालसम्मकै उच्च १८ जनाको मृत्यु भएको थियो ।
सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा आज ९ जना महिला र १२ पुरुषको मृत्यु भएको हो । सबैभन्दा बढी हुने जिल्लामा मोरङ रहेको छ । मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा छ । आजसम्म कोरोना संक्रमणका कारण प्रदेश १ मा मर्नेको संख्या २०५ महिला र ५०० पुरुष गरी ७०५ पुगेको छ ।