कविता कार्की
मलाई आजभन्दा पहिले आफ्नो जीवन यति प्यारो कहिल्यै लागेको थिएन । आफुलाई मन परेको चलचित्र जब अन्त्यतिर आइपुग्छ त्यतिबेला मनमा एक अनौठो बेचैनी हुने गर्छ । एकछिन नसकिए पनि हुने नि, अझै केहीबेर हेरिरहन पाए पनि हुने नि भनेझैं जीवनको रहस्य औल्याउँदै गर्दा कतै समय नै कम पर्छ कि जस्तो भान हुँदैछ ।
आँखा बन्द गरेर सुत्न पनि डर लाग्छ, आजभोलि । ती रातमा बन्द गरेर सुतेका आँखाहरु भोलि पुनः फेरि खुल्ने हुन वा होइनन्, टुंगो छैन । आङ नै सिरिङ्ग पार्ने यो सत्यतालाई आखिर नकार्न सक्ने हिम्मत पनि त छैन म भित्र । न त जन्म हाम्रो इच्छाअनुसार हुन्छ न त मृत्यु नै । हामी त केवल चेस खेलमा प्रयोग गरिएका गोट्टी सरह हौं । ब्रह्माण्डको निर्देशन अनुरुप चाल चलिरहेका हुन्छौं । हार–जित भन्नु केवल खेलुन्जेललाई मात्रै रहेछ ।
जसरी खेलको समाप्ति पश्चात, को रानी ? को सिपाही ? सबैलाई एकै डब्बामा हालेर बिर्को लगाउने गरिन्छ, ठीक त्यसरी नै हामी बाँचुन्जेल आ–आफ्नो अलग्गै पहिचान बोकेर हिँडेपनि मृत्युले एउटै माटोमा मिलाएर हामी यस्तो हौं भन्ने अहम को सर्वनाश गर्दै हामी सबै एकै हौं भन्ने कुराको प्रमाण दिन्छ ।
दिनहुुँ मानिसहरुका मृत्युले अखबारका हेडलाईनहरु रंगिने क्रम बढ्दो गतिमा छ । उसो त मृत्यु कुनै अपरिचित वा अप्रत्याशित घटना वा कुनै नयाँ वस्तुको आविष्कार पक्कै पनि होईन । जन्म लिएर आएका हरेक सजीव जीवले मृत्युवहन गर्नै पर्छ । यो संसारकै नियम हो । यसलाई नकार्नु मुर्खता हो । तर यो सत्यलाई आत्मसात गर्न त्यति सहज पनि त छैन । आफ्ना आँखा अगाडी आफन्तका लम्पसार परेर ते¥स्याएका ती लाचार शव जसलाई छुने अनुमति समेत हुँदैन । उफ, यो कलियुगले पक्कै पनि कुनै अमर्यादित गल्ती गरेको हुनुपर्छ । जसको फलस्वरूप यो कहालीलाग्दो पश्चातापको आगोमा हामी सबै जलिरहेका छौं ।
विगत झन्डै डेढ बर्ष लामो कोरोना कहरको कहालीलाग्दो संघर्षपुर्ण यात्राको सामना हाल समस्त मानव जगत र विश्वले गर्नुपरेको छ । छिमेकी मुलुक भारत र नेपालले भने दोश्रो लहरको कोरोना कहरमा ठुलै मानविय क्षति व्यहोर्नु परेको छ । अझ नेपालको अवस्था त दिनहुुँ निकै भयावह र नाजुक बन्दै गईरहेको छ । संक्रमितको सघन उपचारका निम्ति ७ वटै प्रदेशका कोभिड अस्पतालहरु भरिएका छन् । संक्रमित बिरामीले उपचार शैयाको अभावमा अनाहकमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।
कोरोना संक्रमणको उच्च जोखिम रहेको नेपालमा डबल म्युटेन्ट भेरिएन्टसहितको कोरोना संक्रमणले तवाही मचाईरहँदा मंगलबार मात्रै कोरोनाको थप दुई नयाँ भेरिएन्ट फेला परेको छ । सबै उमेर समुहमा अत्याधिक संक्रामक रहेको यो भेरिएन्टले मुलुकको अर्थव्यवस्था र स्वास्थ्य जनशक्तिलाई दरिलो टक्कर दिएको छ ।
ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, र श्वासप्रश्वासमा समस्या हुनु कोभिड–१९ का मुख्य लक्षणहरु मानिन्छन् । तर पछिल्लो समय संक्रमणपश्चात सिमित बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने लगायतका लक्षणहरु पनि देखिन थालेको चिकित्सकहरुले बताएका छन् । कोरोना भाईरसका कारणले चिन्तित हुनु स्वाभाविक हो । तर भय र त्रासले विद्यमान समस्यालाई झनै जटिल बनाउनु अलि स्वभाविक नहोला । स्वास्थ्य संकटको यस घडीमा सबैप्रति समान व्यवहार र माया बाँडनु हाम्रो सामाजिक उत्तरदायित्व समेत हो ।
विज्ञहरुले पनि विद्यमान भेदभावलाई बढावा दिने खालका भाषा र शब्दावलीहरूको प्रयोगले मानिसहरूलाई आवश्यक जाँच गराउनबाट निरुत्साहित गर्न सक्ने भएकाले त्यस किसिमका क्रियाकलाप नगर्न आग्रह गरेका छन् । सरकारले पनि बेलाबखत कोरोना महामारीलाई कुनैपनि स्थान, जातजाती र धर्म संस्कृतिसँग नजोड्न अनुरोध गर्दै आएको छ ।
हाम्रो मस्तिष्कमा अनिश्चितिता आउने बित्तिकै त्यसलाई वास्तविकता ठानेर अनावश्यक सोच्नुहुँदैन् । किनभने सोचाईहरू वास्तविकता होइनन् । यो समयमा, सोचाई र अनुभुतिहरु जसरी आउँछन् बिस्तारै त्यसरी नै आफै हराउँदै पनि जान्छन, हामीले केवल सावधानीका उपाय अबलम्बन गर्ने हो । आशावादी बनौं, यी समस्याहरु पनि अब छिट्टै आकाशमा रहेका पानीको बादल हराएर जानेछ ।
अहिलेको समयलाई हामीले ईश्वरले दिएको बरदानको रुपमा लिनुपर्छ । आफ्नो परिवारसँग समय व्यतित गर्ने, टाँढा रहेका ईष्टमित्रलाई सम्झिने, छुटदै गएका सम्बन्धलाई पुनः जोडने र भौतिक रुपमा टाँढा भएपनि मनबाट नजिक हुने अवसरको रुपमा यस समयको सदुपयोग गर्नुपर्छ ।
विश्वका अन्य मुलुक जस्तै हामी पनि एकदिन यस सङ्कटकालिन अवस्थाबाट मुक्त हुनेछौं । हामी आशावादी छौं, रात जतिसुकै अँध्यारो भएपनि बिहानको उज्यालो अवश्य हुनेछ । कोरोनासँग जितेर फर्किएको बिहानीले हामीलाई धेरै कुरा सिकाउने छ । कोभिडको अन्त्य पश्चात नयाँ जीवनको प्रारम्भ पक्कै पनि हुनेछ ।